देउवाले पार्टी बलियो बनाएका छन्, गुटबन्दी अन्त्य हुन्छ : मीन विश्वकर्मा

सोमबार, १९ फागुन २०८१
बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी बलियो बनेको र गुटबन्दी अन्त्य हुने दाबी गरेका छन्। सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसको १५औँ महाधिवेशन विधानअनुसार २०८३ मंसिरभित्रै सम्पन्न हुने स्पष्ट पारे। "कांग्रेसको महाधिवेशन समयमै हुन्छ, यसमा कुनै अन्योल छैन," उनले भने। देउवाको नेतृत्वले पार्टीलाई सुदृढ बनाएको उल्लेख गर्दै विश्वकर्माले कांग्रेसभित्रको गुटबन्दी अब समाप्त हुने विश्वास व्यक्त गरे। "दुई कार्यकाल नेतृत्व सम्हालेपछि देउवाले पार्टीमा मार्ग प्रशस्त गरिरहनुभएको छ, जसका कारण गुटबन्दी हट्नेछ," उनले थपे। सरकारले ल्याएको अध्यादेशबारे पनि टिप्पणी गर्दै उनले कांग्रेससँग छलफल भए पनि संसदमा असहमति देखिएकाले अध्यादेश यथास्थितिमा पारित नहुने बताए। पार्टीको प्रचार विभाग संयोजकसमेत रहेका विश्वकर्माले सत्तारूढ गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गरे। "गठबन्धन बलियो जगमा उभिएको छ, सातबुँदे सहमति अनुसार अघि बढ्नेछ," उनले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार