काठमाडौँ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छिन् ।
प्रकृतिको मृत्युपछि शोकमा रहेका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा.देउवाले यस्तो बताएकी हुन् ।
मन्त्री डा.देउवाले मृत्युको प्रकृतिका बुबाआमा र आफन्तजनलाई सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको बताइन् ।
राणाले प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षामन्त्रीसँगसमेत कुराकानी भएको जानकारी गराईन् ।
त्यसक्रममा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको मन्त्री डा देउवाले बताइन् ।
उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो ।
प्रतिक्रिया