कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने

शनिबार, २० बैशाख २०८२

काठमाडौं : नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका कुराहरू पनि समेटिएर आएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

बैठकले पार्टीका सांसदहरूलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताए ।

उनले भने 'मुख्यरुपमा हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरू समेटिएका छन् । जुन राष्ट्रिय आवश्यकताहरू हुन् । हामीले चाहेका कुराहरू समेटिएर आएको हुनाले यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावहरू सहित त्यसको पक्षमा बोल्ने र त्यसलाई समर्थन गर्ने भन्ने निर्णय भएको छ ।'

उनले आगामी बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसाबले बजेट तर्जुमा गरियोस् भन्नको लागि त्यस सम्बन्ध पनि निर्णय गरिएको बताए । 

विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात् गर्दै समिति र संसदमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको समेत उनले सुनाए । 

यस्तै बैठकले शिक्षकहरूसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार