काठमाडौँ : देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् ।
५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् ।
७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् ।
मनाङरमुस्ताङमा १र१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन् । नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौंकेन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् ।
कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी हुँदै छन् ।
बोर्डका अनुसार कोशीबाट ८२ हजार ८ सय ७१, मधेशबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुँदै छन् ।
परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ ।
समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षणको काम गर्नेछ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ । परीक्षा केन्द्रहरुमा विद्युतीय माध्यमबाट प्रश्नपत्र पठाइने व्यवस्था गरिएको शर्माले बताए ।
प्रतिक्रिया