जनकपुर । मधेसको भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव प्रदेशको दयनीय अवस्थाप्रति आफैँ असन्तुष्ट रहेको बताएका छन् ।
मैथिली विकास कोषले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८१ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेशको अवस्था नाजुक हुँदै गइरहेकोमा आफू असन्तुष्ट रहेको बताएका हुन् ।
‘म आफै मन्त्री छु, तर सन्तुष्ट छैन’, मन्त्री यादवले भने, ‘म केही दिन अझै यही अवस्थामा मन्त्री रहे डिप्रेसनको सिकार हुन्छु जस्तो लागिरहेको छ ।’ प्रदेशको अवस्था दयनीय हुनुमा कुनै एक पक्षको मात्रै गल्ती नरहेको उनको भनाई थियो ।
उनले यहाँका राजनीतिक दलहरू दोषी रहेको आरोप लगाउँदै दलहरूमा इमानदारिता नरहेकैले प्रदेशको यो हविगत भएको बताए ।
उनले भने ‘यो अवस्था देखेर कति पटक मुख्यमन्त्रीजीलाई भेटेरै भनेको छु अवस्था सुधार्न पहल गर्नुस् नभए म मन्त्री पदबाट ब्याक हुन तयार रहेको भनेको छु ।’ अगाडी भने ‘यदि अवस्था सुधार नभए आफ्नो ठाउँमा हल्ला खल्ला गर्ने कोही अरूलाई पटाइदिन्छु समेत मुख्यमन्त्रीजीलाई भनेको छु ।’
प्रदेश बिग्रिँदै जानुमा मात्र एक पक्षको नभई सबै पक्षको हात रहेको उनले आरोप लगाए ।
प्रतिक्रिया