पथरी । मोरङको पथरीशनिश्चरेमा परम्परागत संगिनी नाच संरक्षणका लागि महोत्सवको आयोजना गरिएको छ । महोत्सवको तयारी तीव्र पारिएको छ ।
महिला जागरुक हरिकीर्तन तथा संगिनी समूहले पथरीशनिश्चरे नगरपालिका–३ मा फागुन २४ गते शनिबार संगिनी महोत्सव गर्ने भएको हो । पाश्चात्य संस्कारको प्रभावका कारण पूर्वेली संस्कार संस्कृति तथा मौलिक नाचहरु लोप हुने जोखिम बढेको छ ।
आयोजक महिला जागरुक हरिकीर्तन तथा संगिनी समूहकी सचिव यशोदा पोखरेलले लोप हुन लागेको संस्कार संस्कृति र परम्परागत नृत्य संरक्षणका लागि महोत्सव गर्न लागिएको जानकारी दिइन् । ‘संगिनी परम्परागत नृत्य हो । तर, पछिल्लो समय यसका बारेमा जानकारी लिने र नाच्नेको संख्यामा कमी भइरहेको छ । यसकै संरक्षणका लागि महोत्सव गर्न लागिएको हो । तयारी तीव्र पारिएको छ,’ उनले भनिन् ।
पोखरेलका अनुसार संगिनी नाच कस्तो हुन्छ, यसको महत्व के छ र यसले के के कुरालाई समेट्छ रु भन्ने जिज्ञासा महोत्सवले मेटाउने अपेक्षा गरिएको छ । आयोजकले स्थानीयस्तरमा संगिनी संरक्षणका लागि विभिन्न औपचारिक एवं अनौपचारिक कार्यक्रमहरु गर्दै आएको छ ।
तर, यसलाई थप व्यापक बनाउन महोत्सवकै आयोजना गर्न लागिएको जानकारी पोखरेलले दिइन् । परम्परागत पोसाक र बाजासमेत महोत्सवस्थलमा राखिने छ । महोत्सवमा नगरका संगिनी समूहहरुले विभिन्न भाकामा संगिनी नृत्य प्रस्तुत गर्ने छन् ।
साथै, संगिनी नाचका बारेमा जानकारीमूलक ‘ब्रोसर’ प्रकाशन गरेर वितरण गर्ने तयारी आयोजकको छ । महोत्सवमा २ हजारभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । महोत्सव १ दिन मात्रै चल्ने पोखरेलको भनाइ छ ।
प्रतिक्रिया