सप्तरी । मिटरब्याजीको आरोपमा सप्तरीबाट जनमत पार्टीका एक केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
ऋण दिएबापत धितो राखेको जग्गा फिर्ता नगरेको भन्दै प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर - ७ निवासी जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी भनिने सुरेन्द्रप्रसाद शर्मालाई पक्राउ गरेको हो ।
सप्तरीको बोदेबर्साइन नगरपालिका - १० का स्वर्गीय शंकर यादवलाई पक्राउ परेका शर्माका स्वर्गीय बुवा सत्यनारायण शर्माले २०६६ सालमा २५ लाख रुपैयाँ ऋण दिएको र धितो बापत ८ विघा ७ कठ्ठा ७ धुर जग्गा नामसारी पास गरी लिएका थिए ।
तर ऋणी यादवका छोरा निर्मलकुमारले शर्मालाई ऋण रकम चुक्ता गरेपछि पनि हालसम्म उक्त जग्गा फिर्ता नभएको भन्दै शर्माका छोरा सुरेन्द्रसहित परिवारका सदस्यविरुद्ध मिटरब्याजीको उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सप्तरी प्रहरीले सुरेन्द्र शर्मालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
मिटरब्याजी सम्बन्धी तत्काल कुनै कानुन नभएकाले प्राप्त प्रमाणको आधारमा अनुसन्धान गर्न शर्मालाई आपराधिक विश्वासघात र ठगी मुद्दामा पक्राउ गरी मुद्दा चलाउने तयारी रहेको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
प्रतिक्रिया