धनुषा : कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तँछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ ।
मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै लालायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ ।
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष धूमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।
होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् (मिनाप) यसका आयोजक हुन् ।
मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यङ्ग्यात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ ।
मिथिला न्याय कला परिषद्को भनाइलाई यदि सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ ।
आपसी भाइचाराका रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दसँगै मुस्लिम युवाहरूले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् ।
मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९–३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।
फागु पूर्णिमाको पूर्व सन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ ।
मिनाप महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न फागुन २९ गते (बिहीबार) र आज चैत १ गते दुई दिवसीय होली महोत्सव आयोजना गरिएको बताउनुभयो ।
पहिलो दिन होरी अर्थात् फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी भएको मिनापका महासचिव मल्लिकले बताउनुभयो ।
महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महत्त्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन छ ।
यस्तो छ सम्मेलनको इतिहास महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ वीरगन्जबाट भएको हो ।
मैथिली साहित्य परिषद् वीरगन्जले २०५० सालमा पहिलो पटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।
यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्व महासचिव एवं चर्चित पत्रकार चन्द्र किशोर झा बताउनुहुन्छ, “नेपालमा २०४६ सालमा बहुदल आएको थियो ।
राजनीतिक रूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो ‘कन्सेप्ट’ आएको थियो ।” समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले ठुलो भूमिका खेल्ने गर्छ झाले थप्नुभयो । वीरगन्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ । विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो ।
विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा ९एमाले०का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली काँग्रेसका नेता राम सरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशान घाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा ९एमाले०ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगन गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लाल किशोर साहलाई प्रदान गरिएको थियो ।
विसं २०७६ मा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, २०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई प्रदान गरिएको थियो भने २०८० को महामूर्खको उपाधि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो । यसरी छनोट गरिन्छ महामूर्ख रु महामूर्खको छनोट कसरी हुन्छ भन्ने विषय धेरैको उत्सुकताको विषय हुनसक्छ ।
यस कार्यका लागि धेरै मेहनत गर्नुपर्छ, धेरै दिमाग खियाउनुपर्छ आयोजकहरू बताउनुहुन्छ । महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्य कला परिषद्का पूर्व अध्यक्ष मदन ठाकुर बताउनुहुन्छ, “महामूर्ख छनोटका लागि तयारी आयोजनासँग खोजी सुरु भइहाल्छ ।
यसका लागि एक कमिटी गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । केही व्यक्ति महामूर्ख बन्नका लागि कम्मर कसेर लागेको हुन्छ ।” जनकपुरधामको स्थानीय पत्रिकाहरू एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाउँछन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य राजेश कर्ण भन्नुहुन्छ, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । यसलाई मिडियाले क्यास नगर्ने कुरै आउँदैन । फेरि मिडियामा चर्चा भएपछि कार्यक्रमको आकर्षण बढ्ने गर्छ ।
सामान्यतः धेरैलाई लाग्न सक्छ महामूर्ख को बन्छ रु तर आश्चर्यको कुरो यो रहेको छ धेरै कामना गरिरहन्छ यसपालि म महामूर्ख बनु ।” विसं २०६५ का महामूर्ख उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्नुहुन्छ, “उपाधि प्राप्त गर्नु आफैँमा ठुलो उपलब्धि हो, प्रेमले मानिस हरेक थोक अर्थात् विष पनि पिउने गरेको इतिहास छ ।
यस्तोमा महामूर्ख पाउनु ठुलो कुरो हो ।” यस वर्ष को बन्लान् महामूर्ख रु मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकाङ्क्षीको नाम चर्चामा छ ।
मिनापका महासचिव शैलेन्द्र मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न सांसद तथा सामाजिक अभियन्ताहरूको नाम चर्चामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “छनोट समितिले लगभग सबै तयारी गरिसकेको छ, अब आज हुने महामूर्ख सम्मेलनमा नै नाम घोषणा गरिन्छ, अहिले यसलाई रहस्यमै राख्नु उचित हुन्छ ।”
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया