झापाको दमकमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते

बुधबार, ०६ चैत्र २०८१
झापा : झापाको दमकमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिरामी लिएर झापाको बिर्तामोडबाट विराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्स आज (बुधबार) बिहानका राति दुर्घटनामा परेर घाइते हुनेमध्ये १ जनाको अवस्था गम्भीर छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पातालबाट बिरामी लिएर जाँदै गरेको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट स्टोरअगाडि बिहानका राति करिब १ बजेतिर दुर्घटनामा परेको हो । एम्बुलेन्स आफैं अनियन्त्रित भएर सडककको बीचमा रहेको डीभाईडरमा ठोक्किएको थियो । दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–१० की १९ वर्षीया आरजु राई, २० वर्षीय विशाल लिम्बू, ५१ वर्षीया मीना लिम्बू, २१ वर्षीय अन्जेश लिम्बू र २३ वर्षीया वर्षा लिम्बू तथा एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका–५ का ३५ वर्षीय कमल अधिकारी घाइते भएको जानकारी डीएसपी खड्काले दिए । घाइतेमध्ये आरजु राईको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट रहेको जानकारी डीएसपी खड्का बताए । अरु घाइतेको अवस्था सामान्य छ । सबै घाइतेलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको छ । सुरुमा दमककै निम्स अस्पताल लगिएको थियो । दुर्घटनामा परेर घाइते हुनेमध्ये ५१ वर्षीया मीना लिम्बू बिरामी थिइन् । केही समयदेखि उनको खुट्टा दुखिरहेको थियो । बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पातालमा उपचार भइरहेको थियो । अस्पतालले थप उपचारका लागि रेफर गरेपछि विराटनगरतर्फ ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेर उनीसहित ६ जना घाइते भएको जानकारी डीएसपी खड्काले दिए । दुर्घटनाको जानकारी पाउनसाथ घटनास्थल पुगेको प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएको उनको भनाइ छ । प्रहरीका अनुसार तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार