विराटनगर : विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुुँदा १ जना गम्भीर घाइते भएका छन् ।
विराटनगर–२ का अन्दाजी २८ वर्षीय सक्षम सापकोटाले खुकुरी प्रहार गर्दा विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्ता घाइते भएका हुन् । घटना राति ८ः३० बजेतिरको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घाइतेको घाँटीमा चोट लागेको छ ।
उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । सुरुमा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट रेफर गरेर विराट नर्सिङ होम लगियो । विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी जोशीले बताए ।
उनका अनुसार गुप्ता सापकोटाको घरमा काम गर्थे । प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ ।
घटनापछि फरार भएका सापकोटालाई विराटनगरकै नेपाल–भारत सीमा क्षेत्रबाट आज (शुक्रबार) बिहानका राति पक्राउ गरिएको डीएपसी जोशीले बताए ।
घरअगाडि खुकुरी प्रहार गरेका सापकोटा भान्सा कोठामा लुकेर बसेका थिए । प्रहरी पुग्नसाथ कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भएका हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया