धरान : राष्ट्रिय स्तरको नवौं हराईजन बास्केटबल रनिङ कप २०८१ आगामी चैत्र ९ गतेदेखि धरानमा सुरु हुने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा हराईजन बास्केटबल क्लबका पूर्व अध्यक्ष वसन्त राईले प्रतियोगिता चैत्र ९ देखि १२ गतेसम्म सञ्चालन हुने जानकारी गराए।
यस प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका बास्केटबल क्लबहरूको सहभागिता रहनेछ, जसले पर्यटन तथा सांस्कृतिक क्षेत्रलाई प्रवर्द्धन गर्नुका साथै स्वास्थ्य नागरिकको विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ।
हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता धरान–१७ क्षितिज टोलमा सञ्चालन हुनेछ।
प्रतियोगितामा त्रिभुवन आर्मी, विशाल मिलन केन्द्र काठमाडौँ, हाउण्ड बास्केटबल, मोरङ बास्केटबल सङ्घ, झापा बास्केटबल सङ्घ, र धरान टिम (निलो) गरी ६ वटा टोलीको सहभागिता रहनेछ। विजेता टिमले ट्रफीसहित नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछ।
यस वर्ष नगद पुरस्कार राशि वृद्धि गरिएको जानकारी दिँदै पूर्व अध्यक्ष राईले सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उदीयमान खेलाडीलाई १० हजार तथा हरेक खेलका म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिने बताए।
धरान उपमहानगरपालिकाको संयोजन, धरान–१७ वडा कार्यालयको विशेष सहयोग र हराईजन क्लब धरानको आयोजनामा प्रतियोगिता सम्पन्न हुँदै आएको छ। सन् २०१२ (वि.सं. २०६९) देखि सुरु भएको यो प्रतियोगिताले बास्केटबल खेलाडीहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै आएको छ।
यस क्लबले राष्ट्रिय स्तरका कोच, रेफ्री, र खेलाडी उत्पादन गर्ने गौरवमय इतिहास बोकेको छ। साथै, विद्यालयहरूले बास्केटबल प्रशिक्षकहरूलाई नियुक्त गर्दै रोजगारी सिर्जना गरिरहेको र यसले खेलको व्यावसायिकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेको राईले उल्लेख गरे।
प्रतिक्रिया