काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले एउटा कर्मचारी मन्त्रीका लागि नभई राज्यले बनाएको कानुनप्रति र संविधानप्रति इमान्दार हुनुपर्ने बताएका छन् ।
सोमबारको संसद बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
‘मन्त्रीप्रति लोयल नभएका कारण हटाइयो रे ! के कर्मचारीले मन्त्रीप्रति लोयल हुनुपर्ने हो ? कर्मचारीले मन्त्रीप्रति लोयल हुने कि देशप्रति ?,’ उनले भने, ‘राज्यले तोकेको जब डिस्क्रिप्सनप्रति, राज्यले बनाएको कानुनप्रति र संविधानप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ ।’
त्यसअघि बैठकमा प्रधानमन्त्री ओलीले ‘मन्त्रीप्रति लोयल नहुने कर्मचारीलाई हटाइने’ बताएका थिए । उनले भनेका थिए, ‘एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अवरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो, देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न ।’
प्रतिक्रिया