महोत्तरी :नयाँ वर्ष २०८२ सुरु हुन केही दिन बाँकी छँदै मधेस प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल सुरु भएको छ । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन थालिएको छ ।
विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा ‘जुडशीतल’ पर्व मनाइने मैथिल परम्परा छ । विभिन्न परिकार खाने र ख्वाइने यो पर्वमा खाद्य सामग्रीको जोहोसँगै हिलोधुलो खेलेर रमाइलो गरिन्छ । आगामी सोमबार र मङ्गलबार यो पर्व मनाइने छ ।
मिथिलामा वैशाख सङ्क्रान्तिका दिनदेखि भोलिपल्टसम्म दुई दिन ‘जुडशीतल’ पर्व मनाउने चलन छ । सङ्क्रान्तिको पहिलो दिनलाई ‘सतुवाइन’ र भोलिपल्ट अर्थात् वैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ । पहिलो दिनलाई ‘सतुवाइन’ भनिए पनि दुवै दिन ‘जुडशीतल’ पर्वकै दिन मानिन्छन् ।
पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु तथा माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ । बढ्दो गर्मीमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको हो ।
यसैगरी, दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारमा आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ ।
यसैगरी, गुणकारी सोहिजन (मुन्गा) को तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी–बरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।
मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पनि एक हो । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कुलदेवता) लाई चढाउने परम्परा छ ।
प्रतिक्रिया