फैसलाको १२ वर्षपछि खुमबहादुरको सम्पत्ति जफत गरिँदै

विहीबार, २८ चैत्र २०८१
काठमाडौं : नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काले भ्रष्टाचार गरेर कमाएको सानेपास्थित जग्गा जफतको प्रक्रिया अगाडि बढाइएको छ । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसलाबमोजिम खड्काको जग्गा जफतको प्रक्रिया अगाडि बढाएको हो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुरमा रहेको खड्काको घर बनेको जग्गा जफत गर्ने फैसला गरेको थियो । विभागका महानिर्देशक सुरेश पन्थीका अनुसार अदालतको आदेशअनुसार जग्गा जफतका लागि प्रक्रिया अगाडि बढाइएको हो । सर्वोच्चले फैसलामा साबिकको ललितपुर नगरपालिका–२ मा खड्काकी श्रीमती शीला शर्मा खड्काको नाममा रहेको कित्ता नम्बर १०७ को १ रोपनी ६ आना र कित्ता नम्बर १८३ को १ आना १ पैसा जग्गाबाट २० लाख ५६ हजार ९ सय ८७ रुपैयाँ २ पैसाबराबरको जफत गर्न भनिएको थियो । त्यस जग्गामा खड्काको घर रहेकाले फैसलामा घरबाहेक जग्गाबाट असुल उपर गर्ने भनेर उल्लेख थियो । पूर्वमन्त्री खड्काको परिवारले सर्वोच्चको फैसलाबमोजिमको गत १८ चैतमा २० लाख ५६ हजार ९ सय ८८ रुपैयाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन कोषमा दाखिला गरिसकेको छ । ३० साउन २०६९ मा सर्वोच्चले अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री खड्कालाई दोषी ठहर गर्दै ९४ लाख जरिमाना र १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । फैसलाको ५ वर्षपछि २०७४ सालमा खड्काको निधन भएको थियो । अकुत आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा स्रोत पुष्टि हुन नसकेको सो सम्पत्ति र त्यसबाट बढाएको सम्पत्तिसमेत जफत हुने प्रावधान छ । अदालतको फैसलामा भनिएको थियो, ‘रु.९४,७४,१२२.१३ बराबरको चल–अचल सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसुर गरेको ठहर्छ, सो ठहर्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) अनुसार बिगो र कसुरको मात्रा विचार गरी १ वर्ष कैद र बिगोबमोजिम रु.९४,७४,१२२.१३ जरिमाना तथा स्रोत पुष्टि हुन नसकेको सो सम्पत्ति र दफा ४७ बमोजिम सोबाट बढे–बढाएको सम्पत्तिसमेत जफत भई प्रतिवादीले मन्त्री र सांसदको पदमा रहेको समयमा कसुर गरेको भन्ने देखिँदा दफा २४ बमोजिम थप ६ महिना कैद हुने ठहर्छ ।’ फैसलाको ६० दिनभित्र अदालतमा उपस्थित भएकाले त्यसमा उनले २० प्रतिशत सजाय छुट पाएका थिए । अदालतले शिला शर्मा खड्काका नामको एभरेस्ट बैंकमा रहेको २५ लाख रुपैयाँ पनि जफत गर्ने फैसला गरेको थियो । त्यस्तै, शिलाकै नाममा ललितपुरको तत्कालीन २ नम्बर वडास्थित कित्ता नम्बर २४९ मा रहेको १ रोपनी ६ आना १ पैसा १ दाम जग्गा पनि स्रोत नखुलेको भन्दै जफत गर्न भनेको थियो । अनुसन्धानको समयमा सो मुद्दाको लिखत मूल्य २० लाख ९२ हजार थियो । जसको अहिलेको बजार मूल्य ३० करोड रुपैयाँभन्दा धेरै पर्छ । त्यतिबेलाको मूल्यअनुसारको थप २० लाखको जग्गा जफत गर्ने फैसला भएकाले त्यसअनुसार अहिलेको मूल्यअनुसार उनको करिब ५० करोड रुपैयाँबराबरको सम्पत्ति जफत हुने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका एक अधिकारी बताउँछन् । ललितपुर–२ मै रहेको कित्ता नम्बर १०७ को १ रोपनी ६ आना तथा कित्ता नम्बर १८६ को १ आना १ पैसा जग्गामध्ये घरबाहेकको जग्गाबाट २० लाख ५६ हजार ९ सय ८७ रुपैयाँबराबरको भाग हिस्सा जफतको फैसला भएको थियो । उनको बा२च ९५५५ नम्बरको मित्सुबिसी प्राडो गाडी तथा ३३ तोला सुन र २ किलो ९३० ग्राम चाँदी भने जफत भइसकेको छ । ४ कात्तिक २०५९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । विशेषले २९ कात्तिक २०६३ मा सफाइ दिएकामा सर्वोच्च अदालतले सो फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेको थियो । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार