काठमाडौं । चैत १५ गते शुक्रबार राजावादी प्रदर्शनकारीको आगजनी र आक्रमणबाट जडीबुटी उत्पादन तथा प्रशोधन कारखानामा २८ करोड क्षति भएको छ । सडक आन्दोलनबाटै व्यवस्था उल्टाउने लक्ष्यसहित गरिएको आन्दोलनबाट ठूलो धनजनको क्षति भएको हो ।
हाल कम्पनीको उत्पादन, प्रशोधन लगायतका सबैजसो काम ठप्प छन् । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको महाप्रबन्धक संगीता यादवले आन्दोलनबाट ठूलो क्षति भएको र यसको लागि बीमा दाबीको प्रक्रिया अघि बढेको बताइन् ।
कम्पनीले सम्पत्ति, सामानको मौज्दात (स्टक) बीमा लगायतको बीमा गरेको थियो । यही प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानमा बीमा दाबीको पत्र पठाएको यादवको भनाइ छ ।
कारखानाले राष्ट्रिय बीमा कम्पनीमा १२ करोड रुपैयाँको ‘स्टक बीमा गरेको थियो । जसमा आगजनीका समय केन्द्रको भण्डारमा करिब २१ करोड रुपैयाँ बराबरको उत्पादन थियो ।
अग्नि बीमा दाबी प्रक्रिया अघि बढाइसकेको र क्षति निरीक्षणको लागि पत्र पठाइसकेकाले सर्भेयरको रिपोर्टपछि वास्तविक दाबी रकम खुल्ने यादवले बताइन् ।
वि.सं. २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवम् सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सन्चो, भिक्स, हिमालय मसाज तेल, सन्चो जटा केश तेल लगायत उत्पादन गर्दै आएको छ ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन नेपालमा मात्र नभएर विदेशमा पनि निर्यात हुने गरेको छ ।
कम्पनीले चार वर्षदेखि विदेशमा पनि आफ्ना उत्पादन निर्यात गर्दै आएको छ । युरोपेली मुलुक स्विडेन र त्यसबाहेक नेपाली रहेका सबैजसो देशमा कम्पनीले आफ्ना उत्पादन बेच्दै आएको थियो ।
प्रतिक्रिया