तीनकुने घटना २ हप्ता बितेपनि सरकारले छानबिन समिति बनाएन,गृह प्रवक्ता तिवारी भन्छन्;'समिति आवश्यक छैन'

शुक्रबार, २९ चैत्र २०८१
काठमाडौँ : सरकारले काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शन आपराधिक प्रकृतिको भन्दै छानबिन समिति बनाउन अनिच्छा देखाएको छ। राजा फर्काउने उद्देश्यसहित गरिएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको र अर्बौं रूपैयाँबराबर क्षति भएको थियो। गृह मन्त्रालयले आपराधिक प्रकृतिको घटना भएकाले छानबिन समिति बनाउनुपर्ने आवश्यकता नभएको बताउँदै हिंसामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको छ। गृह स्रोतले भन्यो, ‘सरकारले अहिले छानबिन समिति बनाउँदैन।’ गृहमन्त्री रमेश लेखकले समिति गठन नगर्ने संकेत गरिसकेका छन्। यही चैत १५ गते शुक्रबार राजावादी समूहबाट भएको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजक र अर्का सर्वसाधारण सविन महर्जनको ज्यान गएको थियो। सरकारले उनीहरूलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिसकेको छ। गृहमन्त्री लेखक स्वयंले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन्।
आन्दोलनकारीले काठमाडौंको तीनकुनेमा पुर्‍याएको जनधनको क्षतिबारे सरकारले एउटा छानबिन समिति बनाउने र त्यसले दिएको प्रतिवेदनका आधारमा कारबाही गर्ने जनाएको थियो। तर सो घटना भएको १५ दिन बितिसक्दा पनि समिति बनाइएको छैन। गृह सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले आन्तरिक रूपमा छानबिन भइरहेकाले अन्य कुनै प्रकारको समिति आवश्यक नभएको स्पष्ट पारे।
‘प्रहरीका विभिन्न युनिटले आन्तरिक रूपमा अनुसन्धान गरिरहेका छन्,’ उनले भने, ‘त्यसकारण समिति आवश्यक छैन।’ सरकारले व्यवस्थाविरोधी आन्दोलन र हिंसात्मक घटनाको छानबिन गर्न मन्त्रालय वा अन्य तहबाट तत्काल समिति नबनाई अनुसन्धानका लागि प्रहरीलाई नै जिम्मा दिएको संकेत गरेको छ। ‘व्यवस्थाविरोधी आन्दोलन र हिंसाको कहीँ पनि छानबिन समिति बन्दैन,’ गृहको उच्च स्रोतले भन्यो, ‘त्यसकारण तीनकुने घटनाको अनुसन्धान गर्न प्रहरीलाई नै जिम्मा दिइएको हो।’ पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाइदिने अभियानमा लागेको समूह अराजक देखिएपछि तीनकुने रणमैदानमा परिणत भएको थियो। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन उग्र बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान मात्रै गएन, थप २० जना घाइतेसमेत भए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ गर्दै कानुनी कारबाहीका लागि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट समय लिएको छ। सोही घटनामा संलग्न भएके आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाको अनुसन्धन गर्न बुधबार मात्र थप १५ दिनको समय लिएको छ। बुधबारसम्ममा काठमाडौं प्रहरी परिसरले ७७ जनालाई पक्राउ गरिसकेको छ। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहको अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौं घाइते भए। अर्बौंको निजी सम्पत्ति नोक्सान भएको छ। राजा ल्याउने अभियानको ‘कमान्डर’ भनिएका प्रसाईं आफैं सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणमा उत्रिएका थिए। त्यसपछि उत्तेजित बनेको भिड ढुंगामुढा गर्नतिर लागेको थियो। भिड अनियन्त्रित बनेपछि ‘सभाका नायक’ बनेका नवराज सुवेदी भागेका थिए भने प्रसाईं पनि गाडी लिएर फरार भएका थिए। चैत १५ गते आन्दोलनका नाममा भिडलाई उत्तेजित बनाउँदै उक्साउने प्रसाईं हिँडेपछि अराजक व्यक्तिहरूले निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आठवटा गाडीमा आजगनी गरेका थिए। आन्दोलनकारीको आक्रमणबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले २८ करोडमाथिको नोक्सानी बेहोरेको छ। आक्रामक देखिएको भिडले ट्राफिक बिट पनि भत्काएको थियो। त्यही भिडले पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड गरेको थियो भने नेकपा एकीकृत समाजवादीको मुख्यालयमा पनि आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट मच्चाउनुका साथै तोडफोड गरेका थिए। उनीहरू हातहातमा बियरका सिसी, ह्विस्कीका बोतल र लुटिएका अन्य सामग्री बोकेर हिँडेका देखिन्थे। राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गर्नुपर्ने अवस्था निम्तिएको थियो। अहिले प्रसाईंबाहेक लुटपाट र हिंसामा संलग्नलाई प्रहरीले भटाभट पक्राउ गरिरहेको छ। अझै पक्राउ पर्ने प्रहरीको दाबी छ। राजावादीहरूको प्रदर्शनलाई तितरबितर पार्ने क्रममा प्रहरीले तीनकुने क्षेत्रमा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्विकारेको छ। प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको प्रस्टीकरण दिएको छ। सोही क्रममा व्यक्तिलक्षित ५८ राउन्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बताएका छन्। प्रहरीको गोली लागेर रेबिका खत्रीसहित अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। स्थिति अनियन्त्रित हुन थालेपछि प्रहरीले एक सय ९२ पटक हवाई फायर गरेको डिआइजी आचार्यको दाबी छ। भिड नियन्त्रणका लागि प्रहरीले सात सय ४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि पहिले अश्रुग्यास प्रहार गरेको र विमानस्थलतर्फ अघि बढेपछि गोली प्रहार गरेको डिआइजी आचार्यको दाबी छ। रेबिका र उनका दाजुसहित केही व्यक्तिलाई भने झुक्किएर गोली लागेको उनको भनाइ छ। आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईंकै कारण भिड उत्तेजित भएको निष्कर्षमा प्रहरीको छ। प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट प्रसाईंसहित रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गरेपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएका थिए। सुरक्षा निकायका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा प्रसाईंको समूहलाई कार्यक्रम गर्न दिँदा यस्तो दुर्घटना भएको दाबी गरिएको छ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार