विराटनगर : मोरङमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दम्पती घाइते भएका छन् ।
ग्रामथान गाउँपालिका–६ सोमबारे स्थित घिनाघाट सडकमा सोमबार साँझ ७ः२० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
उनका अनुसार नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ग्रामथान–६ का अन्दाजी ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको हो ।
खवासलाई बाटो क्रस गर्दै गर्दा सोमबार साँझ ७ः२० बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–७ का ४५ वर्षीय शशि गच्छदार र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३५ वर्षीया मनिका गच्छदार घाइते भएका छन् ।
सामान्य अवस्थाका दुवै जनाको उपचार जारी छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।
प्रतिक्रिया