विराटनगर : इलाममा दुर्घटना हुँदा १ जना नाबालकको मृत्यु भएको छ । बिर्तामोड–दानावारि भित्री सडक खण्डअन्तर्गत माई नगरपालिका–४ सुखानीमा दुर्घटना भएको हो ।
इलामको दानावारिबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा नगरपालिका–६ का रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नाबालकलाई सोमबार अपराह्न ४ः१० बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।
मोटरसाइकल र चालक बिर्तामोड नगरपालिका–४ का ३३ वर्षीय नकुल राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
घटनास्थल दानावारिबाट अन्दाजी ७ किलोमिटर पूर्वमा पर्छ । बच्चाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया