आपराधिक ग्याङको नेपाल भारतमै अपराधको चाङप्रहरीका अनुसार देवानगञ्ज ७ का जयकृष्ण यादवले गोली चलाएको पत्ता लागेको छ । सुरुमा कामेश्वर यादवले गोली चलाएको भनिएको थियो । तर, कामेश्वरले नभई जयकृष्णले गोली चलाएको घाइतेहरूले प्रहरीलाई बताएका छन् । कामेश्वर र जयकृष्ण बाबु–छोरा हुन् । अहिले दुवै जना फरार छन् । अर्कोतर्फ घटनामा भारतीय नागरिकहरू राजा पासवान र बाबुल यादव पनि संलग्न रहेको पत्ता लागेको छ । राजा पासवान कुख्यात अपराधी रहेको जानकारी नेपाल प्रहरीले प्राप्त गरेको छ । भारतीय प्रहरीलाई केही समयअघि गोली हानेको घटनामा उनको संलग्नता रहेको उच्च सुरक्षा स्रोतले बतायो । ‘भारतीय प्रहरीलाई गोली हानेर फरार रहेका राजा भारतमा ‘मोस्ट वान्टेड’ सूचीमा रहेछन् । उता खोजी भइरहेको पाइयो । त्योबाहेक लागु औषध र चोरीलगायतका विभिन्न मुद्दाको फरार प्रतिवादीसमेत रहेको पत्ता लाग्यो,’ प्रहरीका एक अधिकृतले भने । भारतमा अपराध गरेर आश्रय लिन नेपाल छिरेका उनको समूहले पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रबाट लागु औषध र तस्करीको धन्दा चलाइरहेको प्रहरीका ती अधिकृतको भनाई छ । उनका अनुसार देवानगञ्ज गोली काण्डमा संलग्न भनिएका अर्का भारतीय नागरिक बाबुल यादव पनि भारतीय प्रहरीको खोजी सूचीमा छन् । भारतीय प्रहरीले पनि खोजी गरिरहेका उनी विरुद्ध भारतमा लागु औषध र चोरी मुद्दा जीवितै रहेको नेपाल प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी / फाइल तस्बिरसुनसरी प्रहरी प्रमुख एसपी तिम्सिनाका अनुसार पनि गोली काण्ड मच्चाउने र घाइते हुनेहरू साथी–साथी रहेको पत्ता लागेको छ । सीमा क्षेत्रबाट तस्करी र लागु औषधको धन्दा चलाइरहेका उनीहरू बिचमा लेनदेन विवाद देखिएको प्रहरीको भनाइ छ ।
‘तस्करीको पैसा बाँडफाँटमा कुरा नमिलेपछि सुरुमा भिडन्तमा उत्रिएछन् । दोहोरो झडप र हानाहान भएको स्थानीयले देखेका रहेछन् । पछि ३ राउण्डजति गोली चलेको रहेछ,’ प्रहरी स्रोतले भन्यो ।
घटनामा कति व्यक्ति संलग्न थिए भनेर अहिलेसम्म यकिन छैन । तर, प्रारम्भिक अनुसन्धानबाट ६ जनाभन्दा बढी व्यक्तिहरू घटनामा प्रत्यक्ष जोडिएको देखिन्छ । प्रहरीका अनुसार हालसम्म पक्राउ परेका रविनलाई लागु औषध गाँजा तस्करीसँग जोडिएको मुद्दामा करिब १ महिनाअघि अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
फरार रहेका जयकृष्ण र उनका बाबु कामेश्वरविरुद्ध पनि यसअघि मुद्दा चलेको प्रहरीले जनाएको छ । जयकृष्णविरुद्ध लागु औषध र चोरी तथा कामेश्वरविरुद्ध मोटरसाइकल चोरीमा मुद्दा चलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते भनिएका शिवकुमार र पक्राउ परेका पिन्टुविरुद्ध समेत यसअघि मुद्दा चलेको पाइएको जानकारी प्रहरीले दिएको छ ।
‘सबै आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन् । कुनै न कुनै अपराधमा जोडिएका छन् । प्रत्येक विरुद्ध विगतमा २ वटाभन्दा बढी मुद्दा चलेको रहेछ । भारतमा समेत प्रहरीको खोजी सूचीमा रहेको पायौँ,’ सुनसरी प्रहरी प्रमुख तिम्सिना भन्छन् ।
कसरी घट्यो घटनालेनदेनसँग जोडिएको विवाद उग्र हुँदै गएपछि ज्यानै लिने हिसाबले गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूले दिएको प्रारम्भिक बयानका आधारमा प्रहरीले यो जानकारी दिएको हो । घटनाको वास्तविकतामा पुग्न फरार रहेकाहरू पक्राउ पर्नै पर्ने हुन्छ । तर, लेनदेन विवादकै कारण गोली चलेको निष्कर्षमा प्रहरी लगभग पुगेको छ । जहाँ दुवै तर्फबाट गोली हानाहान भएको समेत बताइएको छ । प्रहरीले घटनास्थलबाट एउटा भारतीय (बीआर ३८ ए एम ४९४०) नम्बर प्लेटको सहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको धनी पत्ता लाग्न बाँकी छ । घटनास्थलबाट प्रहरीले पेस्तोलमा प्रयोग हुने गोलीका ३ वटा खोका पनि बरामद गरेको छ । खोकाको आधारमा गोली पेस्तोलबाटै प्रहार गरिएको निष्कर्षमा प्रहरी पुगेको छ । सुनसरी प्रहरी प्रमुख तिम्सिनाका अनुसार गोली लागेर देवानगञ्ज ७ का २१ वर्षीय शिवकुमार मेहता र देवानगञ्ज १ का अन्दाजी २५ वर्षीय रविनकुमार यादव घाइते भएका छन् । देवानगञ्ज १ का अन्दाजी २१ वर्षीय पिन्टु यादव लडेर घाइते भएको उनले बताए । [caption id="attachment_98925" align="alignnone" width="1280"]
गोली हानाहानमा घाइते भएका व्यक्ति / तस्बिर : प्रदेश खबर[/caption]
घाइतेमध्ये ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेका शिवकुमारको अवस्था गम्भीर रहेको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत उनको शल्यक्रिया गरेर दुवै गोली निकालिएको एसपी तिम्सिनाले बताए । प्रहरीकै निगरानीमा शिवकुमारको उपचार जारी छ ।
नाकमा गोली लागेका रविनकुमार र मोटरसाइकलबाट लडेर घाइते भएका पिन्टुको अवस्था सामान्य छ । नोबेल मै सामान्य उपचारपछि दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार रहेकाहरू बिच सुरुमा दोहोरो झडप भएको र पछि गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीयमा त्रासदिनदहाडै गाउँमा गोली चल्दा स्थानीयमा भने त्रास पैदा भएको छ । देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवले गोली प्रहारजस्तो घटना हुन थालेपछि स्थानीयले असुरक्षित महसुस गरेको बताइन् । उनले तस्करी रोक्न निक्कै कडा कदम चाल्नुपर्ने बताइन् । ‘सबै पक्षको प्रयास हुँदाहुँदै पनि तस्करी रोक्न सम्भव भइरहेको छैन । अलि कडा रूपमा प्रस्तुत हुनुपर्ने देखिन्छ । नत्र आगामी दिनमा अरू पनि आपराधिक घटना हुन सक्छ,’ कुमारी भन्छिन् । प्रदेश प्रहरी प्रवक्ता दाहाल घटनामा संलग्नहरूको पहिचान खुलिसकेका कारण चाँडै पक्राउ पर्ने बताउँछन् । ‘खोजी तीव्र पारिएको छ । फेला परिहाल्छन् । एउटा पक्ष प्रहरीको सम्पर्कमा छ । अर्को पक्ष भागिरहेको छ । फेला परेपछि घटनाको यथार्थ पत्ता लाग्छ,’ उनले भने ।
प्रतिक्रिया