बाबुले खुकुरी प्रहार गर्दा नाबालिका छोरीको अवस्था गम्भीर

विहीबार, ०४ बैशाख २०८२
विराटनगर । सोलुखुम्बुमा बाबुले खुकुरी प्रहार गरेर आफ्नै नाबालिका छोरीलाई गम्भीर घाइते बनाएका छन् । प्रहरीका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–९ गोपेका ३२ वर्षीय चामकुमार तामाङले आफ्नै छोरी ५ वर्षीया पवित्रा तामाङलाई आज (बिहीबार) बिहान खुकुरीले हानेका हुन् । चामकुमारले बिहान करिब ६ः३० बजेतिर छोरीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । बाबुको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी नाबालिकालाई प्रहरी चौकी सुकेपोखरीबाट खटिएको असई गम्भीर मगर नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि थुलुङ दूधकोशी अस्पताल मुक्लीतर्फ पठाएको थियो । प्रहरी घटनास्थलमा पुग्दा नाबालिका घरदेखि करिब १ सय ५० मिटर पूर्व सडकमा बेहोस भएर रक्ताम्य अवस्थामा लडिरहेकी थिइन् । उनको कान, निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । बोल्न सक्दिनन् । सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्ववारिकाप्रसाद घिमिरेका अनुसार अवस्था गम्भीर रहेकी नाबालिकालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । सोलुखुम्बुमा उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजान लागिएको हो । नाबालिका छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका चामकुमारलाई खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी घिमिरेले दिए । प्रहरीले घटनास्थलबाट दापसहितको खुकुरी बरामद गरेको छ । डीएसपी घिमिरेका अनुसार चामकुमारले छोरीलाई खुकुरी प्रहार गर्नुको कारण पत्ता लाग्न सकेको छैन । पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार