इटहरी : यस वर्षको मनसुनजन्य विपद्बाट देशभर करिब २० लाख जनसङ्ख्या प्रभावित हुने प्रक्षेपण गरिएको छ।
गृह मन्त्रालयले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार देशभर चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ नागरिक प्रत्यक्ष रूपमा बाढी, पहिरो, डुबान र चट्याङलगायतका विपद्का चपेटामा पर्ने अनुमान गरिएको छ।
मनसुन सुरु हुनुअघि नै पूर्वतयारीलाई प्राथमिकता दिँदै सरकार तथा सम्बन्धित निकायहरूले कार्ययोजना अनुमोदन गरिसकेका छन्। सोहीअनुसार विशेष गरी जोखिमयुक्त जिल्लाहरूमा पूर्वतयारीलाई तीव्रता दिइएको छ।
सुनसरी जिल्ला पनि बाढी र डुबानका दृष्टिले अति जोखिमयुक्त जिल्लामध्ये पर्छ। प्रत्येक वर्ष यहाँ मनसुनसँगै बाढी तथा डुबानका घटनाले दर्जनौँको ज्यान जाने, सयौँ घरपरिवार विस्थापित हुने र ठुलो मात्रामा जनधनको क्षति हुने गरेको तथ्याङ्कले देखाउँछ। त्यसलाई ध्यानमा राख्दै यस वर्ष सुनसरीमा सम्भावित हानि-नोक्सानीलाई न्यूनतम राख्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले विशेष रणनीति तयार पारेको छ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बाढी व्यवस्थापन तथा उद्धार संयन्त्रलाई सक्रिय बनाइएको छ। राहत सामग्री भण्डारण, सुरक्षित स्थानहरूको पहिचान, प्रारम्भिक उद्धार टोलीहरूको परिचालन, सूचना सम्प्रेषण संयन्त्रको सुदृढीकरणलगायत तयारीलाई प्राथमिकता दिइएको छ।
स्थानीय तहहरूसँगको समन्वयमा सतर्कता अपनाउन र जोखिमयुक्त बस्तीका बासिन्दालाई सचेत गराउन थालिएको जनाइएको छ। विपद्पछिको पुनः स्थापना तथा राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउने गृहकार्य पनि सुरु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
विपद् व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम गठन-१० मिनेटमै घटनास्थल पुगेर उद्धार गर्ने तयारी
विपद्पछि हुने क्षतिलाई न्यून पार्न सुनसरीमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको नेतृत्वमा बनेको यो विशेष उद्धार टोलीले आपत्कालीन अवस्थामा तत्कालै सक्रिय भई उद्धार तथा राहत कार्य गर्नेछ।
प्रजिअ मिश्रका अनुसार उक्त टिममा नेपाली सेनाबाट १०३ जना, शसस्त्र प्रहरी बलबाट विशेष तालिम प्राप्त १९ जना, र नेपाल प्रहरीका तर्फबाट प्रहरी निरीक्षकको कमाण्डमा २०–२० जनाको संलग्नता रहनेछ। 'घटना भएको १० मिनेटभित्र उद्धार टोली सो स्थानमा पुग्ने व्यवस्था मिलाइएको छ; संयोजकसमेत रहेका मिश्रले जानकारी दिए।
साथै, विपद्को उच्च जोखिममा रहेको बराहक्षेत्र नगरपालिका लगायत पहाडी भेगमा पहिरो तथा बाढीजन्य घटनालाई ध्यानमा राख्दै आवश्यक ‘हेभी इक्युपमेन्ट’ सामग्री पहिल्यै नै विभिन्न स्थानहरूमा पठाइसकिएको मिश्रले बताए। टिमको तयारीबाट विपद्को जोखिम न्यूनीकरण र द्रुत उद्धार सम्भव हुने अपेक्षा गरिएको छ।
विपद्पछिको राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सुनसरीको रामधुनी नगरपालिकाको आयोजनामा जिल्लास्तरीय एकीकृत विपद् प्रतिक्रिया अभ्यास सम्पन्न भएको छ। रासतालमा सम्पन्न सो अभ्यास कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकायका उच्च अधिकृतहरू लगायत सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र मिश्रले विपद् व्यवस्थापनमा समन्वय र तत्परता आवश्यक रहेको बताउँदै, “विपद्पछि राहत कार्य प्रभावकारी बनाउन जिल्लाभरका पालिकाका प्रमुखहरूसँग आवश्यक समन्वय गरिसकिएको छ,” भने।
उनले विपद् व्यवस्थापन केवल कागजमा सीमित नहुनुपर्नेमा जोड दिँदै थपे, “हामी केवल तथ्याङ्क सङ्कलन गरेर मात्र होइन, फिल्डमा खटिएर, चाहे दिउँसो होस् या राति, प्रत्यक्ष रूपमा कार्यमा उत्रन्छौँ।”
प्रदेश खबरसँगको कुराकानीमा प्रजिअ मिश्रले हालको मौसम र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सबै सुरक्षा निकायका प्रमुखहरूलाई जिल्लाभित्रै रहन निर्देशन दिइसकेको जानकारी पनि दिए। विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन तयारीलाई सुदृढ बनाउने उद्देश्यले आयोजित अभ्यासले जिल्लास्तरमा विपद्पछिको प्रतिक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।
सुनसरीका २१ स्थान उच्च बिपद् जोखिममा, प्रहरी सतर्क
सुनसरी जिल्लाभरि बाढी, डुबान र पहिरोको उच्च जोखिममा परेका क्षेत्रहरूको सूची सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको जोखिम मूल्याङ्कनअनुसार सुनसरीका २१ स्थानलाई उच्च बिपद् सम्भावित क्षेत्रको रूपमा सूचीकृत गरिएको हो ।
धरान उपमहानगरपालिकाको वडा नं. ४, ५, ६ र २० मा पर्ने जामुने, फिनामरी, पानमारी र विष्णुपादुका क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् । त्यस्तै, धरानकै वडा नं. ४, ५, ८, ९, ११, १२, १३, १५ र १६ का पृथ्वी चोक, सर्दु खोला, फुस्रे, नगरकोट, रेल्वे क्षेत्र र स्टेडियम आसपासका क्षेत्रहरू बाढीको उच्च जोखिममा रहेका छन् ।
बराहक्षेत्र नगरपालिकाको वडा नं. १ अन्तर्गत सूर्यकुण्डलाई पहिरोको जोखिमयुक्त क्षेत्रको रूपमा चिनिएको छ भने त्यही नगरपालिका अन्तर्गत वडा नं. १, २, ६, ७, ८, ९, १० र ११ का चतरा, तेरआरडी, सिसौली, सालबन्दी, राजाबास, प्रकाशपुर र मधुवन क्षेत्र बाढी तथा डुबानको उच्च जोखिममा परेका छन् ।
इटहरी उपमहानगरपालिकाका वडा नं. ४, ५, ६, ७, ९, १०, ११, १२, १३, १५, १९ र २० का गैरिगाउँ, सिमरबना, हरियाली टोल, ट्याङ्ग्रा खोला, डुम बस्ती, सूर्य टोल र सेरा खोलातिर पनि बाढी र डुबानको उच्च सम्भावना देखिएको छ ।
दुहबी नगरपालिकाका १० वटा वडामा पर्ने प्रस्टोकी, ट्राफिक चोक, मालहट्टी, भलुवा, सोनपुर, फुटानी चोक, तनमुना, चाहबेला र पूर्व कुशाहा क्षेत्र पनि उच्च जोखिम सूचीमा छन् । इनरुवा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ७, ८, ९ र १० का केही क्षेत्रलाई पनि बाढीरडुबानको संवेदनशील क्षेत्र मानिएको छ ।
रामधुनी नगरपालिका र गढी गाउँपालिकाका सबै वडाहरूलाई जोखिमयुक्त क्षेत्रको सूचीमा राखिएको छ । बर्जू गाउँपालिकाका वडा नं.१, २, ३, ४ र ५ मा ट्याङ्ग्रा खोला, धमाना खोला र बुढी खोलाले बाढी डुबानको सम्भावना बढाएकाले त्यहाँ अति प्रभावित क्षेत्रको रूपमा दर्ज गरिएको छ ।
यसैगरी, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र देवांगञ्ज गाउँपालिकाका केही वडाहरू पनि बाढी र पहिरोको जोखिममा रहेको जनाइएको छ ।
प्रहरीको उच्च तयारी, जोखिम क्षेत्रमा कमाण्ड पोस्ट स्थापना
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले “जहाँ विपद्, त्यहाँ कमाण्ड पोस्ट” भन्ने नाराका साथ प्रहरी अगाडि बढिरहेको बताए ।
उनका अनुसार सम्भावित विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार र सुरक्षाका लागि जिल्ला तहमा प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली, इलाका तहमा १५ जनाको टोली र प्रहरी चौकी तहमा प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली परिचालन गरिएको छ ।
जोखिमयुक्त क्षेत्रहरूमै एक–एक जना फोकल पर्सन तोकिएको र उनीहरूलाई आवश्यक निर्देशन दिइसकिएको एसपी तिम्सिनाले जानकारी दिए । उनले विपद्को बेला सबैभन्दा पहिला प्रहरी नै पुग्ने भएकाले आफूसमेत पूर्ण तयारी अवस्थामा रहेको बताए ।
“जहाँ जस्तो अवस्था आउँछ, त्यसअनुसार काम गर्न तयार छौँ,” तिम्सिनाले भने, “मेरो गाडीमै झम्पल, आरा, लाइफ ज्याकेट र वुड कटर जस्ता सामग्री राखिएको छ, ताकि तत्कालीन आवश्यकताको आधारमा प्रत्यक्ष रूपमा उद्धार र राहत कार्यमा जुट्न सकियोस् ।”
विपद्पछि प्रभावकारी उद्धारको तयारीमा सशस्त्र प्रहरी सक्रिय, ३५–३५ जनाको अनुशिक्षण तालिम सम्पन्न
सम्भावित विपद्पछिको प्रभावकारी व्यवस्थापन तथा उद्धारका लागि सशस्त्र प्रहरी बलले पूर्वतयारीलाई तीव्र बनाएको छ । सशस्त्र प्रहरीले जिल्लाका विभिन्न गणहरूबाट ३५–३५ जना गरी एक हप्ते विशेष अनुशिक्षण तालिम सम्पन्न गरिसकेको छ ।
सशस्त्र प्रहरी बल सुनसरीमा प्रमुख एसपी निर्मलकुमार थापाका अनुसार विपद्पश्चात् उद्धार र राहत कार्यमा तालिमप्राप्त जनशक्तिलाई तत्काल परिचालन गर्ने तयारी गरिएको छ । उनका अनुसार प्रत्येक गणमा डिएसपीको कमाण्डमा ३० जना उद्धार दक्ष सशस्त्र प्रहरी परिचालन गरिनेछ ।
मनसुनसँगै उत्पन्न हुन सक्ने बाढी र अन्य प्राकृतिक विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाभर रहेका १७ ओटा बेस र बोर्डर आउट पोस्ट (बिओपी) मार्फत १७० जना सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ भने अन्य थप जनशक्ति सहित कुल २०५ जनाको टोली खटाइएको छन्।
सशस्त्र प्रहरी बराह बाहिनीको मुख्यालय, पकलीबाट विशेष तालिम प्राप्त गोताखोर सहितको एक प्लाटुन प्रहरी टोलीलाई उच्च सतर्कताका साथ 'स्ट्यान्डबाइ' मा राखिएको सशस्त्र प्रहरी प्रमुख थापाले बताए। बाढीको जोखिम रहेका स्थानमा तत्काल उद्धार तथा राहत कार्यको लागि उक्त टोलीलाई आवश्यक परे तुरुन्त खटाइने तयारी गरिएको हो।
“बाढी, पहिरो र अन्य प्राकृतिक जोखिम बढी रहेका क्षेत्रमा सशस्त्र प्रहरीको बेस र बिओपीहरूबाट असई वा सईको कमाण्डमा १० जना तालिमप्राप्त प्रहरीहरू स्ट्यान्ड वाई तैनाथ गरिनेछन्,” एसपी थापाले जानकारी दिए ।
उनका अनुसार हाल जोखिमयुक्त क्षेत्रहरूको 'ह्याजार्ड म्यापिङ' सम्पन्न गर्दै त्यसअनुसार पूर्वतयारी थालिएको छ । असार दोस्रो सातादेखि जिल्लाका सबै स्थानीय तहको समन्वयमा जोखिमयुक्त वडाहरूमा स्थानीय स्वयम् सेवकहरूलाई उद्धार तथा आपत्कालीन सहायता सम्बन्धी विशेष तालिम सुरु गरिने पनि उनले बताए ।
उक्त तालिम १८ दिन लामो हुनेछ, जसमा वडा तहका युवायुवतीहरूलाई आगलागी नियन्त्रण (फायरफाइटिङ), बाढीमा फसेका नागरिकहरूको उद्धार, प्राथमिक उपचार तथा अन्य आवश्यक सीपहरू प्रदान गरिनेछ ।
यसरी मनसुन पूर्व नै तयार गरिएको रणनीति कार्यान्वयन भएमा यस वर्षको सम्भावित जनधनको क्षति न्यून गराउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
यसरी सुनसरीमा युद्धस्तरमा गरिएको पूर्वतयारी,सशस्त्र तथा नागरिक सुरक्षाको समन्वय,स्थानीय तहको सक्रियता र जोखिम क्षेत्रहरूको स्पष्ट म्यापिङका आधारमा यस वर्षको मनसुनमा जनधनको क्षति न्यूनीकरण हुनेमा प्रशासन ढुक्क देखिएको छ।
कार्यान्वयनको सफलताले विपद् व्यवस्थापनको नमुना निर्माण गर्न सक्ने सम्भावना बलियो देखिन्छ।
प्रतिक्रिया