अमेरिका प्रवेशमा थप ३६ देशका नागरिकमाथि प्रतिबन्धको तयारी

सोमबार, ०२ असार २०८२

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

रोयटर्सले प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालयको गोप्य दस्ताबेजअनुसार यो प्रस्ताव अमेरिकी राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी अघि बढाइएको हो।

हालै मात्र अमेरिका सरकारले १२ देशका नागरिकलाई प्रवेश निषेध गरेको थियो। ट्रम्प प्रशासनको दाबी छ— ‘विदेशी आतङ्कवादी’ तथा अन्य राष्ट्रिय सुरक्षासम्बन्धी खतराबाट बच्न यस्तो प्रतिबन्ध आवश्यक छ।

विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित आन्तरिक कूटनीतिक नोटमा थप चिन्ताजनक ३६ देश पहिचान गरिएको उल्लेख छ। ती देशहरूलाई ६० दिनको समय दिइएको छ, यदि उनीहरूले निर्धारित मापदण्ड पूरा गर्न सकेनन् भने अमेरिका प्रवेशमा प्रतिबन्ध लागू गर्न सिफारिस गरिनेछ।

उक्त नोटमा यस्ता देशमा भरपर्दो परिचयपत्रको अभाव, शङ्कास्पद राहदानी प्रणाली, आतङ्कवादी गतिविधिमा संलग्नता, यहुदी तथा अमेरिकी विरोधी सोच रहेको भन्दै आपत्ति जनाइएको छ।

हाल प्रतिबन्धको तयारीमा रहेका ३६ देशमा अं गोला, भुटान, क्यामरुन, इथियोपिया, इजिप्ट, घाना, किर्गिस्तान, नाइजेरिया, सिरिया, तान्जानिया, युगान्डा, जिम्बाबे लगायत अफ्रिकी, एसियाली तथा केही क्यारिबियन राष्ट्र रहेका छन्।

यसअघि यात्रा प्रतिबन्ध लागेका १२ देशमा अफगानिस्तान, म्यानमार, चाड, सोमालिया, इरान, यमन लगायत छन्। साथै बुरुन्डी, क्युबा, लाओस्, भेनेजुएलालगायत सात देशमा आंशिक प्रतिबन्ध लगाइएको छ।

यात्रा नीतिका विषयमा रोयटर्सको प्रश्नमा एक अमेरिकी अधिकारीले प्रतिक्रिया दिन नमाने पनि विदेशी नागरिकका मामिलामा सुरक्षा मूल्याङ्कन निरन्तर चलिरहेको बताएका छन्। उनका अनुसार— “अमेरिका आफ्ना नागरिकको सुरक्षा र भिसा प्रक्रिया अन्तर्गत उच्च सुरक्षा मापदण्ड कायम गर्न प्रतिबद्ध छ।”

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सात मुस्लिम बहुल देशमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए, जुन अमेरिकी सर्वोच्च अदालतबाट सन् २०१८ मा अनुमोदन भएको थियो। यस पटकको प्रस्तावले यात्रा प्रतिबन्ध नीति अझ व्यापक बनाउने देखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार