मोरङको उर्लाबारीमा दुर्घटना, स्कुटरले थिचेर १ जनाको मृत्यु

शनिबार, ०६ बैशाख २०८२
विराटनगर । मोरङको उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेपछि स्कुटरले माथिबाट थिचेर उर्लाबारी नगरपालिका–८ का ५० वर्षीय नरकुमार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरले थिचिरहेको अवस्थामा लिम्बू शनिबार बिहान ६ः३५ बजेतिर मृत भेटिएका थिए । उर्लाबारी–८ जरुवापानीस्थित भित्री सडक खण्डमा प्र १–०२–०४० प ७८८१ नम्बरको स्कुटरले थिचेर मृत्यु भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी दिए । सडकको कल्भर्टदेखि अन्दाजी ६ फुट तल खसेको अवस्थामा स्कुटरले थिचिरहेको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्भर्टबाट खसेपछि स्कुटरले थिचेर उठ्न नसक्दा लिम्बूको मृत्यु भएको हुनसक्छ । यद्यपि, मृत्यु दुर्घटनामा परेर भएको हो कि हैन भनेर अनुसन्धानपछि मात्रै पत्ता लाग्ने प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जनकुमार बराल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार