इटहरी : सुनसरी धरानबाट आउँदै गरेको कार इटहरीको पानीपियामा शनिवार राति दुर्घटना हुँदा मानवीय क्षति भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने कार चालकसहित ३ जना घाइते भएका छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कोशी लोक मार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० पानीपिया जङ्गलमा प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । धरानबाट इटहरीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर राति ११ बजेतिर सडकबाट पूर्वतर्फ रहेको जामुनको रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । ४ जना सवार रहेको कार दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको जानकारी डीएसपी खतिवडाले दिए । गम्भीर घाइते भएका राउतलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारकै क्रममा करिब डेढ घण्टापछि राउतको मृत्यु भएको खतिवडाले बताए । प्रहरीका अनुसार दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । सामान्य अवस्थाका घाइतेहरूको बिपीमै उपचार भइरहेको छ । सामान्य उपचारपछि कार चालक लामालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार घटनास्थल इटहरीको तरहरा चोकबाट करिब ७ किलोमिटर उत्तरमा पर्छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डीएसपी खतिवडाले बताए । उनका अनुसार घटनास्थलमा रहेको क्षतिग्रस्त कार निकाल्ने प्रयास भइरहेको छ ।
प्रतिक्रिया