इटहरी। धरानमा स्कार्पियो गाडीबाट प्रहरीले ३०० केजी गाँजा बरामद गरेको छ।
गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट चोकमा चेकजाँच गरेको थियो।
हिजो (शुक्रबार) राति करिब ९ बजे चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ गइरहेको खैरो रङको को. १ च. ७३३५ नम्बरको स्कार्पियो गाडी बेबारिसे अवस्थामा चालक विना भेटिएको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा गाडीको पछाडिको सिटमा कालो प्लास्टिकमा प्याक गरिएका १० वटा पोकाहरू फेला परेका थिए। ती पोकामा ३०० केजी लागूऔषध गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ।
बरामद गरिएको गाँजा र गाडीलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर राखेको छ भने फरार गाडी चालकको पहिचान तथा खोजी कार्य जारी रहेको सुनसरी प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया