काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दिइएका सेवा सुविधाको भुक्तानी १० महिनाभन्दा बढी समयदेखि रोकिँदा निजी अस्पताल तथा मेडिकल कलेजहरू आर्थिक संकटमा परेको भन्दै उनीहरूले स्वास्थ्य बीमा सेवा बन्द गर्ने चेतावनी दिएका छन्।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै लामो समयदेखि भुक्तानी नआएर अस्पतालहरूमा गम्भीर समस्या उत्पन्न भएको जनाएको छ।
संघका अनुसार भुक्तानी अभावले औषधि, प्रयोगशाला (ल्याब) तथा रेडियोलोजीजस्ता महत्त्वपूर्ण सेवाहरू प्रभावित भएका छन् र अब ती सेवा निरन्तर दिन नसकिने अवस्था आइपुगेको छ।
संघले स्वास्थ्य बीमा बोर्डसँग पटकपटक समन्वय गर्दा पनि समाधान नआएको गुनासो गर्दै अब बाध्यतावश सेवा अवरुद्ध गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ। “भुक्तानी अझै नआएमा कन्सल्टेसन, डायग्नोस्टिक सेवा, रेडियोलोजी लगायतका बीमा सेवाहरू बन्द गर्न सकिनेछ,” संघले पत्रमार्फत उल्लेख गरेको छ।
संघका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीद्वारा हस्ताक्षरित उक्त पत्रमा स्वास्थ्य बीमा कार्यक्रम दीगो बनाउन मन्त्रालय र बीमा बोर्डले गम्भीरता देखाउनुपर्ने र समस्या तुरुन्त समाधान गर्नुपर्ने माग गरिएको छ। साथै, सेवामा अवरोध आए सम्पूर्ण जिम्मेवारी सम्बन्धित सरकारी निकायको हुने स्पष्ट गरिएको छ।
हाल निजी मेडिकल कलेजहरू र अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत लाखौं बिरामीलाई सेवा दिइरहेका छन्।
भुक्तानी अभावका कारण सामान्य नागरिकहरू समेत उपचार सेवाबाट वञ्चित हुने खतरा रहेको संघले जनाएको छ। संघले स्वास्थ्य बीमा बोर्ड र मन्त्रालयलाई समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गर्दै अन्यथा सेवा बन्दको निर्णय लिन बाध्य हुने चेतावनी दिएको छ।
प्रतिक्रिया