कोशी सरकारको १० महिनामा १६ अर्ब ७२ करोड खर्च, आन्तरिक आम्दानीमा वृद्धि

बुधबार, ०७ जेठ २०८२

विराटनगर : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा कोशी प्रदेश सरकारले कुल १६ अर्ब ७२ करोड १८ लाख रुपैयाँ बजेट खर्च गरेको छ, जुन कुल वार्षिक बजेटको ४७.४ प्रतिशत हो। सरकारले चालु वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो।

विनियोजित रकममध्ये १४ अर्ब ४७ करोड २३ लाख चालु खर्च, १६ अर्ब २० करोड २० लाख पूँजीगत खर्च र ४ अर्ब ५८ करोड ५० लाख स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि छुट्याइएको थियो।

तीमध्ये १० महिनामा ६ अर्ब ८१ करोड ८७ लाख पूँजीगत, ६ अर्ब ६९ करोड २४ लाख चालु खर्च तथा ३ अर्ब २१ करोड ७ लाख रुपैयाँ स्थानीय तहमा अनुदानस्वरूप खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

 २०८०/८१ को सोही अवधिमा खर्च १५ अर्ब ८८ करोड ३ लाख र २०७९/८० मा १९ अर्ब ७ लाख रुपैयाँ थियो।

प्रदेश सरकारले १० महिनामा ३ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको छ, जुन चालु वर्षको कुल ४ अर्ब ९८ करोड आम्दानी लक्ष्यको ७५.५ प्रतिशत हो।

यो विगत वर्षको तुलनामा २४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा ३ अर्ब ३ करोड २५ लाख रुपैयाँ आन्तरिक आम्दानी भएको थियो।

त्यस्तै, प्रदेशले हालसम्म राजस्व स्रोतबाट १२ अर्ब ४८ करोड ४७ लाख र संघीय सरकारबाट अनुदानमार्फत १० अर्ब ६५ करोड २० लाख रुपैयाँ प्राप्त गरेको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार