काठमाडौं : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थासम्बन्धी भनाइ भनी भइरहेको प्रचारप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन्।
उनले देउवाले कतै राजसंस्थाको पक्षमा बोलेको वा समर्थन गरेको भन्ने प्रचार मनगढन्ते र भ्रामक रहेको दाबी गरेका छन्।
विश्वकर्माका अनुसार देउवा २०६२/०६३ को जनआन्दोलनका प्रमुख अगुवा तथा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानका सशक्त पक्षधर हुन्।
‘शेरबहादुर देउवा संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण, संवर्धन र संस्थागत विकासका लागि निरन्तर लड्ने नेता हुन्’, विश्वकर्माले भनेका छन्, ‘उहाँ नागरिक स्वतन्त्रता, समानता र न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका निष्ठावान पक्षधर हुनुहुन्छ।’
विश्वकर्माले क्षणिक स्वार्थपूर्ति गर्न देउवाको नाम जोडेर राजसंस्थासम्बन्धी असत्य सूचना फैलाउनु पत्रकारिताको धर्मविपरीत भएको बताए।
‘उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरा मनगढन्ते ढंगले प्रचार गर्नु अनैतिक कार्य हो’, उनले भने। उनले यस्तो भ्रामक प्रचारमा नपर्न सबैमा आग्रह गर्दै यस्ता समाचार मिडियाले सम्प्रेषण नगर्न अपिल गरेका छन्।
प्रतिक्रिया