रोङ गाउँपालिकाको शिक्षा शाखा कोशी प्रदेशकै उत्कृष्ट

विहीबार, ०८ जेठ २०८२

इलाम :  शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको इलाम जिल्लाको रोङ गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट पालिकाको रूपमा घोषणा गरिएको छ। यो सम्मान देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) द्वारा प्रदान गरिएको हो।

प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान गर्ने उद्देश्यले गठन गरेको मूल्याङ्कन समितिको निर्णय अनुसार रोङ गाउँपालिका कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा चयन भएको हो। प्राध्यापक डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले विभिन्न २५ वटा मापदण्डका आधारमा मूल्याङ्कन गर्दै रोङ गाउँपालिकालाई उत्कृष्ट ठहर गरेको हो।

प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार मूल्याङ्कनमा शिक्षा क्षेत्रमा गरिएको लगानीमा ३० अंक, निःशुल्क र समावेशी शिक्षामा १० अंक, दीर्घकालीन योजनामा १० अंक, असल अभ्यासमा २० अंक, प्राविधिक सञ्चालनमा १० अंक, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० अंक र सुशासनमा १० अंकका आधारमा अंक प्रदान गरिएको थियो।

रोङ गाउँपालिकाले प्रविधिमैत्री विद्यालयहरूको विकास गर्दै अभिभावक शिक्षाको अभ्यास पनि सुरू गरेको छ, जसले शिक्षा गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको छ।

यो सम्मान जेठ २६ गते पोखराको सभा गृहमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार तथा सम्मानपत्रसहित प्रदान गरिने प्यानले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार