निशा राई
धरान/धरान उपमहानगरपालिकाको वडा नं। २ मा पर्ने भानुचोक । घण्टाघरदेखि दक्षिणतर्फ पूर्वी पहाडी जिल्ला आवतजावत गर्ने बसहरू बिहानको ३ बजेदेखि नै तयारी हुन्छन् । साँझ भने ६ बजेदेखि पहाडबाट बस आइपुग्छन् । बस भएको समयमा यस क्षेत्रमा अत्याधिक भीड बढ्छ ।
भीड बढेसँगै सबैभन्दा बढी चहलपहल ठेलामा खाजा खानेहरूको हुन्छ । यात्रा गर्नुअघि र यात्रामा भोकाएका आएकाहरू पेटभर सन्तुष्टसाथ विभिन्न परिकार खाइरहेको देखिन्छ । उक्त क्षेत्रमा एक दर्जन बढी ठेला छन् । ठेलामा परिकार बेच्नका लागि करिब ५ घण्टाको समय धरान उपमहानगरले व्यवस्था गरेको छ । ठेलामा विभिन्न आकर्षक होटल र रेष्टुरेन्टमा पाइनेजस्तै परिकार पाइन्छ ।
स्थानीय सरल राईले ठेलामा खाजा बेचेरै मनग्य आम्दानी गरेको सुनाए । उनकाअनुसार ठेलाको खाजा कुनै रेष्टुरेन्टको भन्दा कम हुँदैन । रेष्टुरेन्टमा पाईने प्राय सबैजसो आईटमहरू सहुलियतमै पाइने भएका कारण पनि यहाँ सेवाग्राहीको भीड लाग्ने गरेको छ । सेवाग्राहीमध्ये सबैभन्दा बढी सार्वजनिक गाडीका यात्रुहरू रहेको उनी बताउँछन् ।
‘धेरै समय पनि दिन पर्दैन । दिनमा जम्मा ५ घण्टा खाजा बेच्न व्यस्त भइन्छ,’ उनले भने, ‘दैनिक १५ हजारभन्दा बढी बिक्री हुन्छ । हाल पाँच जनाको परिवारको गुजारा भइरहेको छ । र, दुईजनालाई काम पनि दिएको छु ।’
नेपालमा जुन व्यवसाय गर्दापनि घाटा हुने, डुब्ने र पुनः वैदेशिक रोजगारमै युवाहरू पलायन हुने अवस्था चिर्नका लागि राज्यले अझै ध्यान पु¥याउन नसकिरहेको उनको भनाइ छ ।
उनले भने, ‘सुरु–सुरुमा त ठेलामा खाजा बेच्न लाज पनि लाग्यो । अहिले यही क्षेत्रमा मज्जा लाग्न थालेको छ ।’
ताजा खाजा हुने भएकाले सेवाग्राहीहरू आकर्षित भएको उनले बताए ।
‘हाल ठेलामा होटलमा पाईने परिकारहरूमध्ये मःम, फ्राई राईस, मासुको आईटमहरू, ससेज, चाउमिन, ईत्यादी बेच्ने गरेको छु । प्रायः बेलुका खाजा खाने मानिसहरूदेखि ज्याला मजदुरी गर्ने, सवारी चालकहरूसमेतले प्याकिङ नै गरेर लैजानुहुन्छ,’ उनले भने, ‘दैनिक रुपमा बेच्ने खाजाहरू दिउँसोसम्ममा परिवारका सबै सदस्यहरूले बनाउँछौँ ।’
नेपालमा अधिकांश युवाहरू काम गर्नको लाजले विदेशिनुपर्ने उनको अनुभव छ । उनले भने, ‘आफ्नो देशमा काम गर्नलाई जे जस्तो ठाउँ समयमा पनि गर्न सके, खट्न सके आफनै देशमा बस्न सक्ने वातावरण छ ।’
Discussion about this post