विराटनगर । सुनसरीको गढी गाउँपालिका–३ मा रहेको एउटा सहकारीबाट मंगलबार राति रकम चोरी भएको छ । सहकारीबाट ५ लाख रूपैयाँ चोरी भएको हो ।
अज्ञात समूहले राति ११ः३० बजेतिर श्री साना किसान कृषि सहकारी संस्थामा प्रवेश गरेर रकम चोरी गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार चोरीमा संलग्न सुरुमा गेटको ताला फोडेर सहकारीभित्र प्रवेश गरेको पाइएको छ । चोरीमा संलग्नले सहकारीको लकर नै फोडेर रकम चोरेको जानकारी रेग्मीले दिए ।
सहकारीका अध्यक्ष देवनारायण मण्डलले रकमबाहेक अरु केही चोरी नभएको जानकारी दिए । सहकारीको कागजात भने यत्रतत्र छरिएको अवस्थामा फेला परेको उनको भनाइ छ । सहकारीका लेखापाल दिपम साहले पहिलोपटक टेलिफोनमार्फत अध्यक्ष मण्डललाई घटनाको जानकारी गराएका हुन् । बिहान ७ः३० बजेतिर सहकारीमा पुग्दा चोरी भएको आफूले देखेको भनेर साहले घटनाको जानकारी गराएका थिए । लगत्तै सहकारीका अध्यक्ष मण्डलले प्रहरीलाई खबर गरे ।
सहकारीमा रहेको सीसी क्यामेरा फुटेजमा लकर फुटाएर रकम चोरी गरेको प्रष्टसँग देखिने प्रहरी स्रोतले बतायो । ‘मास्क लगाएर र सेतो कपडाले शरीर ढाकेर आएका ४ जना व्यक्तिले लकर फुटाएर सहकारीको रकम चोरी गरेको देखिन्छ । सुरुमा उनीहरु गेटको ताला फोडेर भित्र छिरेको फुटेजमा देख्न सकिन्छ,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘त्यसपछि कार्यालयको ताला फोडेर लकर भए ठाउँमा पुगेर तोडफोड गर्दै रकम निकालेको देखिन्छ ।
घटनाको प्रकृति हेर्दा सरकारीका बारेमा राम्ररी जानकार व्यक्ति नै प्रवेश गरेर चोरी गरेजस्तो देखिन्छ ।’
घटनामा संलग्न भएको आशंकामा बुधबार साँझ एक जनालाई पक्राउ गरिएको एसपी रेग्मीले बताए । अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेकाको पहिचान प्रहरीले खुलाएको छैन । सीसी क्यामेरा फुटेज हेरेर शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको र थप अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने जानकारी रेग्मीले दिए ।
Discussion about this post