स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

बुधबार, २४ बैशाख २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका छन् । 

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको बताएका हुन् । 

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे । 

उनले भने,‘त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो  । त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताए । 
उनले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहिन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यम सामु थपिएको चुनौति भन्दै यस्ता चुनौतिको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गरे । 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै राजनीतिक परिवर्तनपछि नेपाली जनताले अपेक्षा गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा आफ्नोतर्फबाट नेपाली प्रेसले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलको भनाई थियो  । 

सो अवसरमा बरिष्ठ पत्रकार सम्मान २०८१ पत्रकार महासंघका पूर्व अध्यक्ष विपूल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो भने राष्ट्रिय पत्रकारीता पुरस्कार २०८१ विमल गौतम बाग्लुङ, दिपेन्द्र श्रेष्ठ कास्की, लोग्शरी कुँवर कैलाली, दिपेन्द्र बान्तवा संखुवासभा, डिल्लीराम खतिवडा उदयपुर र सागर पण्डित तनहुँलाई प्रदान गरिएको थियो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार