तीनढ्वाङ्गे खहरे पुल पुन:र्निर्माण ढिलाइ, बर्खायाम सुरु भएसँगै स्थानीयमा त्रास

विहीबार, २५ बैशाख २०८२

धरान : धरान उपमहानगरपालिका ८ स्थित अरुण टोलमा रहेको तीनढ्वाङ्गे खहरे पुलको पुन:र्निर्माण अझै सुरु नहुनुका कारण स्थानीयवासी बर्खायाम सुरु भएसँगै बाढीको त्रासमा बाँच्न बाध्य छन्। मदन भण्डारी राजमार्गको निर्माण अन्तर्गत कालोपत्रे सम्पन्न भए पनि पुलको जीर्ण संरचना त्यत्तिकै छ।

विक्रम संवत २०८० मा नेपाल सरकारको लगानीमा निर्माण गरिएको दुई लेनको मदन भण्डारी राजमार्गको एक खण्ड अन्तर्गत उक्त स्थानमा पिच सम्पन्न गरिएको थियो। तर सो राजमार्ग अन्तर्गत पर्ने तीनढ्वाङ्गे खहरे पुल भने निर्माण सम्पन्न भएको केही महिनामै, गत साउन महिनामा भत्किएको थियो। पुरानो फलामको संरचनामाथि नै कालोपत्र गरिएको कारण पुलले अतिरिक्त भार थेग्न नसकेर ढलेको स्थानीयको आरोप छ।

पुल भत्किएको करिब एक वर्ष पुग्न लाग्दा पनि पुन:र्निर्माण सुरु नहुनुमा सरकारको उदासिनता रहेको स्थानीयको गुनासो छ। अरुण टोलका बासिन्दा जीवन तामाङले बर्खायाममा आवतजावतमा सास्ती बढेको भन्दै असन्तोष व्यक्त गरे। “स्कुल जाने बालबालिकादेखि बृद्धबृद्धासम्म सबैलाई जोखिम मोलेर हिँड्नुपरेको छ। पुल नहुँदा हाम्रो जीवन नै असुरक्षित महसुस भइरहेको छ,” उनले भने।

स्थानीय रामबहादुर राईका अनुसार, तीनढ्वाङ्गे खहरे खोलामा धरान बजार क्षेत्रका ढल मिसिने भएकाले बर्खामा ठूला बाढी आउने गर्छन्। “पुल नभएर बाढीको पानी थुनिँदा बस्ती डुब्ने जोखिम बढेको छ,” उनले चेतावनी दिए।

वडाध्यक्ष धनबहादुर राईका अनुसार, ब्रिटिस घोपा क्याम्पको आवागमन सहज बनाउन २०१७ मा फलामको पाताबाट बनेको ३२ फिट लामो पुल निर्माण गरिएको थियो। जीर्ण अवस्थामा रहेको सो पुलमाथि नै कालोपत्र गरिएको हुँदा पुलले भार थेग्न नसकी भत्किएको हो। उनले थपे, “स्थानीयले तत्कालीन समयमा नयाँ पुल बनाइनुपर्ने माग गर्दा आश्वासन दिइए पनि पछि पिच गरेर टारिएको थियो। त्यसको परिणाम अहिले देखिएको छ।”

राजमार्ग कालोपत्रे निर्माणको जिम्मा लिएको मोती दान निर्माण कम्पनीले पुल निर्माणको जिम्मेवारी भने नलिएको प्राविधिक ईसाहाक राईले बताए। उनका अनुसार ठेकेदार कम्पनीले केवल कालोपत्र र कल्भर्ट निर्माणको जिम्मा मात्र पाएको थियो।

धरान उपमहानगरका उपप्रमुख इन्द्रविक्रम बेघाले स्थायी पुल निर्माण नहुञ्जेल अस्थायी क्याबिन बनाएर खहरेको पानी बहाव सुनिश्चित गरिने जानकारी दिए। उनले मदन भण्डारी राजमार्ग आयोजनासँग समन्वय भइरहेको जनाउँदै छिट्टै पुनर्निर्माण प्रक्रिया थालिने विश्वास दिलाए।

यसबीच, स्थानियवासीको माग छ जीर्ण संरचनाको विकल्पमा सुरक्षित, दिगो र भरपर्दो पुलको शीघ्र निर्माण गरियोस् ताकि बर्खायाममा बाढीको त्रासमा बाँच्न नपरोस्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार