काठमाडौं : पछिल्लो समय क्षेत्रीय सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै नेपाल सरकारले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी तीव्र बनाएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सीमामा व्यापक गस्ती र चेकप्वाइन्ट स्थापना गरी निगरानीलाई सघन बनाएको हो।
सशस्त्र प्रहरी बलका अनुसार वैशाख २३ गते बिहानदेखि २५ गते बिहीबारसम्मको ४८ घण्टाको अवधिमा सीमा क्षेत्रमा कुल ३१२ गस्ती र १,८४४ चेकप्वाइन्ट सञ्चालन गरिएका छन्। तीमध्ये ८४ संयुक्त गस्ती भारतीय समकक्ष सशस्त्र सीमा बलसँग समन्वयमा गरिएको हो भने २२८ गस्ती एकल रूपमा सशस्त्र प्रहरीद्वारा सञ्चालन गरिएका हुन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, वैशाख २३ मा २०, २४ मा १६ र २५ मा ४८ वटा संयुक्त गस्ती गरिएको थियो। एकल गस्ती क्रमशः ८९, ६४ र ७५ वटा गरिएका थिए।
त्यसैगरी, सो अवधिमा सशस्त्र प्रहरीले सीमाक्षेत्रमा दैनिक सयौं स्थानमा चेकप्वाइन्ट स्थापना गरेर सुरक्षा जाँचलाई नियमित बनाएको छ। वैशाख २३, २४ र २५ गते क्रमशः ५६४, ६४० र ६४० स्थानमा चेकप्वाइन्ट सञ्चालन गरिएका थिए।
सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलका विभिन्न बाहिनीहरू बराह (सुनसरी), छिन्नमस्ता (महोत्तरी), गढिमाई (मकवानपुर), मुक्तिनाथ (कास्की), विन्ध्यावासिनी (रुपन्देही) र वैद्यनाथ (कैलाली) अन्तर्गत १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार सीमाक्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गर्दै सूचना आदानप्रदानलाई प्राथमिकता दिइएको छ।
यद्यपि, नेपाल–भारत सीमामा परम्परादेखि चलिआएको सहज आवतजावतमा अनावश्यक असहजता नहोस् भन्नेतर्फ पनि सुरक्षाकर्मी सचेत रहेका छन्। स्थानीय बासिन्दा तथा दैनिक यात्रुहरूलाई नकारात्मक असर नपर्ने गरी गस्ती तथा निगरानी सञ्चालन भइरहेको सशस्त्र प्रहरीले स्पष्ट पारेको छ।
प्रतिक्रिया