काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश कंगाल बनाउनेहरु नै राजाहरू भएको आरोप लगाएका छन्। आज (शनिबार) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दै देशलाई आजको जमानासम्म गरिब बनाएर राख्नेले ‘हामी आउँछौँ, साथ देऊ’ भनिरहेको देख्दा अचम्म लागेको बताए । ‘अचम्म त के भने, यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ भनेर लाजै मान्दैन’, उनले भने, ‘यो देश कंगाल बनाउने त यिनीहरू हुन् त !’
अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको उनले उल्लेख गरे । देशलाई बस्न लायकको बनाउनै पर्नेमा उनले जोड दिए । ‘वातावरणीय हिसाबले हेर्नुस्, हिमाल, पहाड छन् । यस्तो स्वच्छ, पवित्र छ । यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ’, उनले भने, ‘यस्तो देशमा फोक्साको व्यापारी ? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा ?’ प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता हालको रहेको बताउनु बताए ।
वर्तमान पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया