वासिंगटन डिसी : अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनसँगै मुलुकको राजनीतिक र सामाजिक परिवेशमा व्यापक परिवर्तन देखिन थालेको छ।
यही कारणले हाल अमेरिकी नागरिकहरू उच्च सङ्ख्यामा आफ्नो देश त्याग्दै अन्यत्र बसाइँ सर्न थालेका छन्। ताजा तथ्याङ्क अनुसार, सन् २०२५ मा अमेरिकी नागरिकता त्याग्ने दर अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।
बेलायतको गृह कार्यालयले दिएको तथ्याङ्क अनुसार, सन् २०२५ को जनवरीदेखि मार्चसम्म मात्रै १,९३१ जना अमेरिकीहरूले बेलायती नागरिकता प्राप्त गर्न आवेदन दिएका छन्, जुन सन् २००४ यताकै उच्च सङ्ख्या हो।
अघिल्लो त्रैमासिक तुलनामा यो १२ प्रतिशतको वृद्धि हो। विशेषगरी बेलायत, क्यानडा, अस्ट्रेलिया र अन्य युरोपेली मुलुकहरूमा स्थायी बसोबासको लागि अमेरिकीहरूको चासो तीव्र रूपमा बढेको देखिन्छ।
यो प्रवृत्ति नयाँ भने होइन। ट्रम्प पहिलो कार्यकालमा सत्तामा आउँदा र कोभिड–१९ महामारीको चरम समयमा पनि हजारौँ अमेरिकीले आफ्नो नागरिकता त्यागेका थिए। सन् २०२० को पहिलो छ महिनामै ५,८०० भन्दा बढी अमेरिकीहरूले नागरिकता त्यागेका थिए, जुन सन् २०१९ को तुलनामा तीन गुणा बढी थियो।
सिर्फ राजनीतिले मात्र होइन, अमेरिकाको कर प्रणाली, स्वास्थ्य सेवा प्रणाली, सामाजिक असमानता लगायतका मुद्दाले पनि नागरिकहरूमा निराशा बढाएको बताइएको छ। क्याम्ब्रिज एकाउन्टेन्ट्स नामक लेखा फर्मका अनुसार अमेरिका छोड्ने धेरै नागरिकहरू करको झन्झट, जीवनस्तर र सामाजिक सुरक्षाका कारण अन्यत्र सर्न चाहन्छन्।
बेलायतमा मात्रै सन् २०२५ को अन्त्यसम्म ५,५०० भन्दा बढी अमेरिकीले बसोबासका लागि आवेदन दिने अनुमान गरिएको छ, जुन सन् २०२४ को तुलनामा २० प्रतिशतले बढी हो।
तर, अर्कोतर्फ युरोपेली मुलुकहरूले आप्रवासी सम्बन्धी नियम कडा पार्न थालेका छन्। बेलायती प्रधानमन्त्री केयर स्टारले गत साता नयाँ नागरिकता नीति कडा बनाउने घोषणा गरे भने इटालीले पुर्खाको आधारमा नागरिकता दिने पुरानो कानुन खारेज गरिसकेको छ।
अमेरिकाको आन्तरिक असन्तोष र युरोपेली देशहरूको कडाइबिच, भावी महिनामा आप्रवासन सम्बन्धी परिस्थिति झन् जटिल बन्ने प्रक्षेपण गरिएको छ।
प्रतिक्रिया