ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का

सोमबार, १२ जेठ २०८२
फाइल तस्बिर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय ऊर्जा विकासको दीर्घकालीन लक्ष्य हासिल गर्न विद्युत् विधेयक अत्यन्त आवश्यक रहेको बताएका छन्।

मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले विद्युत् विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको र यसले ऊर्जा क्षेत्रमा स्थायित्व, लगानी प्रवर्द्धन तथा समृद्ध नेपाल निर्माणमा टेवा पुर्‍याउने बताए।

मन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको स्मरण गराउँदै यो लक्ष्य पूरा गर्न दीर्घकालीन योजना, आधुनिक पूर्वाधार तथा लगानीमैत्री नीति आवश्यक रहेको उल्लेख गरे। “ऊर्जा विकासको मार्गचित्रलाई पूरा गर्न यो विधेयक अपरिहार्य छ,” उनले भने।

छलफलमा मन्त्रालयका सचिव, पूर्वसचिव, नियामक निकाय, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि र ऊर्जाविज्ञहरू सहभागी थिए। छलफलमा सहभागी सरोकारवालाहरूले पनि विधेयकले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्री खड्काले विद्युत् विधेयकले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र बजार व्यवस्थापनमा स्पष्ट नीति तथा कानुनी संरचना तयार गरी निजी तथा वैदेशिक लगानी आकर्षणमा टेवा पुर्‍याउने बताए। उनले उक्त विधेयकलाई “समृद्ध नेपाल निर्माणतर्फको सशक्त पाइला” भनेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार