कोशी प्रदेशलाई अपराधरहित बनाउने डिआइजी कार्कीको प्रतिबद्धता

कोशी प्रहरीको अभियान फरार प्रतिवादी पक्राउ प्रहरीको ‘मिसन’

सोमबार, १२ जेठ २०८२

विराटनगर : कोशी प्रदेशका प्रहरी प्रमुख डीर्आइजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले कोशी प्रदेशमा प्रहरी सेवालाई परिणाममुखी, जनउत्तरदायी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । 

विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा सोमबार पत्रकारसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममार्फत उनले आगामी कार्य योजनाका बारेमा जानकारी दिँदै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्कीले १५ दिनअघि अर्थात् वैशाख २८ गते प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । डीआईजी कार्कीले ‘बेस्ट पुलिसिङ’को अवधारणा अनुरूप प्रहरी सङ्गठनलाई जनमैत्री, उत्तरदायी र पारदर्शी बनाइने बताए । 

‘अब प्रहरी सेवा नतिजामुखी हुन्छ । जनताले अनुभव गर्ने गरी सुधार ल्याउने छौँ । प्रहरी प्रशासनलाई अब कागजीभन्दा व्यवहारमै परिवर्तन देखिने गरी कार्यान्वयनमा लगिने छ,’ कार्कीले भने ।

डीआईजी कार्कीले पछिल्लो १५ दिनभित्रै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका ४५ जना प्रतिवादी पक्राउ गरिएको जानकारी दिए। फरार प्रतिवादी पक्राउ अभियानलाई उनले प्रहरीको ‘मिसन’ नै भएको बताए । 

यस अवधिमा प्रतिवादी पक्राउ गरेर १६ वर्ष कैद सजाय र २६ लाख रुपैयाँ बराबरको जरिबाना असुल गरिएको उनले उल्लेख गरे । कोशी प्रदेशमा लागु औषधको समस्या गम्भीर रहेको कार्कीको ठहर छ।

उनका अनुसार पछिल्लो १५ दिनमा १ हजार २ सय किलोग्राम गाँजा र ३ सय ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ। उनले लागु औषधको समस्यालाई देशव्यापी सङ्कटका रूपमा चित्रित गर्दै कार्कीले त्यस विरुद्ध जनचेतनामूलक कार्यक्रम, अन्तर संवाद र समुदायको सहकार्य आवश्यक रहेको बताए।

‘प्रहरीले मात्रै लागुऔषधलगायतका अपराध नियन्त्रण गर्न सक्दैन । यसमा समाजको पनि सक्रिय भूमिका चाहिन्छ,’ कार्कीले भने। उनले विद्यालय, समुदाय र सामाजिक संस्थाहरूसँग मिलेर थप जनचेतना फैलाउने तयारी भइरहेको जानकारी गराए ।

डीआईजी कार्कीले भन्सार छली र चोरी तस्करी नियन्त्रणमा प्रहरीले अब कडा अभियान सञ्चालन गर्ने जानकारी गराएका छन्। पछिल्लो दुई सातामा ४ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरी भन्सारमा बुझाइएको प्रहरीको विवरण छ। उनले तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी, भन्सार र स्थानीय प्रशासनसँग समन्वयात्मक अभियान चलाइने स्पष्ट पारे। 

प्रदेशमा ट्राफिक समस्या गम्भीर भएको स्वीकार गर्दै डीआईजी कार्कीले सवारी चालकको अनुशासनहीनता नै सडक दुर्घटनाको प्रमुख कारण रहेको उल्लेख गरे।

‘ट्राफिक प्रहरीले सशक्त रूपमा काम गरिरहेको छ । पछिल्लो १५ दिनमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५५ लाख रुपैयाँ बराबरको जरिवाना गरिएको छ,’ उनले भने । कार्कीले ट्राफिक समस्या समाधान गर्न सडक सुरक्षामा आधारित जनचेतना कार्यक्रम, ड्राइभर शिक्षा र डिजिटल ट्राफिक निगरानी प्रणाली विस्तारमा जोड दिने योजना सुनाए ।

‘नेपाल प्रहरी संस्था हो, व्यक्ति होइन,’ कार्कीले भने, ‘व्यक्ति विशेषको गल्तीबाट संस्थाको साख गुम्न दिनुहुन्न।’ उनले प्रहरी सङ्गठनभित्र अनुशासन र आचारसंहितालाई बलियो बनाउनेतर्फ आफू कटिबद्ध रहेको स्पष्ट गरे।

उनले प्रहरी सङ्गठनभित्र देखिएका कमजोरी सुधार्न निरीक्षण र अनुगमन अभियान थालिएको जानकारी दिए। हालसम्म केही प्रहरी कार्यालयको निरीक्षण सम्पन्न भइसकेको र बाँकी पाइप लाइनमा रहेको बताए।

कार्कीले समुदाय–प्रहरी साझेदारीलाई अझ सशक्त बनाइने बताए। प्रहरीको काम केवल अपराध नियन्त्रणमा सीमित नराखी, समाजसँगको सम्बन्ध बलियो बनाउने दिशामा अघि बढ्ने बताएका छन्।

उनले भने, ‘शान्ति सुरक्षा कायम राख्न नीतिगत स्तरमै दीर्घकालीन सोच आवश्यक छ। प्रहरीले गरेको प्रयास मात्रै पर्याप्त हुँदैन, समग्र प्रणालीको सुधार जरुरी छ।’ लागुऔषध, सीमा अपराध, तस्करी नियन्त्रणजस्ता विषयमा काउन्टर पार्टहरूसँग निरन्तर संवाद भइरहेको जानकारी पनि उनले दिए।

कार्कीले प्रहरी एक्लैले सबै समस्या समाधान गर्न नसक्ने स्पष्ट गर्दै सबै पक्षको सहकार्य र सहयोग आवश्यक रहेको बताए। ‘हामी कानुनले दिएको जिम्मेवारी पूरा गर्छौँ । तर, समग्र समाजको सहयोगबिना त्यो सम्भव हुँदैन। सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्दा मात्रै शान्ति र सुशासन सम्भव हुन्छ,’ कार्कीले भने । 

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी गोविन्द अधिकारी, एसपी हरि डङ्गोललगायतका प्रहरी अधिकृतहरूको उपस्थिति थियो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार