कांग्रेसद्वारा उच्च शिक्षामा विमर्श : नेपाललाई शिक्षाको हब बनाउनेमा जोड

सोमबार, १२ जेठ २०८२
फाइल तस्बिर

काठमाडौँ : नेपाली काँग्रेसले उच्च शिक्षाका विविध आयामबारे बहस गर्दै नेपालको शिक्षा प्रणालीलाई सुदृढ बनाउने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिएको छ। कांग्रेस शिक्षा विभागले काठमाडौँमा आयोजना गरेको “शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम” विषयक कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले नेपाललाई ‘शिक्षा हब’ बनाउनु पर्ने धारणा राखे।

देउवाले नेपालको प्राकृतिक सुन्दरता र शैक्षिक सम्भावनालाई उजागर गर्दै भने, “यदि हामीले शिक्षा प्रणालीलाई व्यवस्थित र गुणस्तरीय बनाउन सक्यौँ भने विदेशी विद्यार्थी पनि नेपाल पढ्न आउन सक्छन्। अभिभावकहरू आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन चाहन्छन्, त्यसैले देशमै उत्कृष्ट शिक्षा दिने वातावरण बन्नुपर्छ।”

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षामा गुणस्तर ल्याउन विज्ञहरूबाट मार्गदर्शन आवश्यक रहेको बताए। आफू पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेको जनाउँदै उनले शिक्षा मन्त्रालयको जिम्मेवारी ‘संयोगवश’ आएको बताए। उनले भने, “म पाठक हुँ, विद्यार्थी हुँ, सबैले बाटो देखाइदिनुहोस्। म मार्गदर्शनको अपेक्षा गर्दछु।”

शिक्षाविद्‌हरूले भने शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप र दबाब बढिरहेकोप्रति चिन्ता व्यक्त गरे। त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाले योग्यता र दक्षता हेरेर शैक्षिक नेतृत्वको छनोट गर्ने अभ्यास हराउँदै गएको बताए। “काँग्रेसले शिक्षालाई बेवास्ता गर्न खोजेको त होइन भन्ने शङ्का थियो, तर अहिलेको बहसले त्यो शङ्का हटाएको छ,” उनले भने।

शिक्षाविद् डा। अमरराज जोशीले भने शिक्षामा कुनै सर्त वा राजनीतिक प्रभाव हुनु नहुने बताए। “शिक्षा सही बाटोमा हिँड्न सके देश पनि समृद्धिको दिशामा जान सक्छ,” उनले स्पष्ट पारे।

त्यसैगरी डा। तीर्थ खनियाले सरकारले गरेका थुप्रै शिक्षा सम्बन्धी निर्णय कार्यान्वयन नहुनु र सरोकारवालासँग संवाद नगर्नु गम्भीर समस्या भएको टिप्पणी गरे।

कार्यक्रममा काँग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले पार्टीले पछिल्लो ६ महिनामा १९ वटा बहस आयोजना गरिसकेको जनाउँदै यो शृङ्खला निरन्तर चल्ने बताए। उनले नेपालको शिक्षा प्रणालीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने आवश्यकता औँल्याउँदै, “बिदेसिन चाहने युवालाई देशमै अवसर दिन सक्ने खालको शिक्षा नीति बनाउन गहन छलफल भइरहेको छ,” भने।

काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा शिक्षा नीति बहस गरी आम नागरिकको सुझावसहित पार्टी नेतृत्वमा शिक्षा नीति प्रस्ताव गर्ने तयारी गरेको समेत महरले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार