सर्लाही : यौन दुराचार मुद्दामा अदालतबाट सफाइ पाएका विवादास्पद धार्मिक व्यक्तित्व रामबहादुर बमजन अर्को मुद्दामा भने कारागार चलान भएका छन्। सर्लाही जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासबाट सो आदेश दिइएको हो। अदालतको आदेशपछि बमजनलाई सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ। बमजनविरुद्ध गत फागुन ५ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा दर्ता गरिएको थियो।
यसअघि बमजनमाथि सर्लाही जिल्ला अदालतले २०८१ असार १० गते यौन दुराचार मुद्दामा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो। तर उच्च अदालत जनकपुरले सर्लाही अदालतको फैसला उल्ट्याउँदै २०८१ चैत ६ गते उनलाई उक्त मुद्दाबाट सफाइ दिँदै कारागारमुक्त गरेको थियो।
यसरी, कानुनी विवादमा बारम्बार तानिँदै आएका बमजन अहिले सम्पत्ति शुद्धीकरण मुद्दाका कारण दोस्रोपटक पुर्पक्षका लागि थुनामा परेका हुन्।
प्रतिक्रिया