विराटनगर । मोरङबाट प्रहरीले बुधबार दिउँसो ३ सय ४७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । ठूलो परिमाणमा गाँजा ओसारपसारमा संलग्न २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १ जना भारतीय नागरिक छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ग्रामथान गाउँपालिका–७ कलाबन्जार चोकबाट बरामद गरिएको गाँजा ३ सय ४७ किलोग्राम १ सय १० ग्राम गाँजा छ ।
प्रहरीले मंगलबार राति भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामतलाई पक्राउ गरेको थियो । मोटरसाइकल रोकेर बसिरहेको शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको सई नीरबहादुर खड्का नेतृत्वको टोलीले राति ११ः४५ बजेतिर नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ गर्दा उनीहरु प्रदेश १–०४–००१ प ९८३५ नम्बरको मोटरसाइकलमा सवार थिए । कामत मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा फेला परेकालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदा गाँजा लुकाएर राखेको पत्ता लागेको डीएसपी जोशीको भनाइ छ । उनीहरुले नै दिएको जानकारीका आधारमा प्रहरीले बुधबार दिउँसो गाँजा बरामद गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहसहित इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री र इलाका प्रहरी कार्यालय हरैँचाका सइ नीरबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले दिउँसो २ः३० बजेतिर गाँजा बरामद गरेको डीएसपी जोशीले बताए । उनका अनुसार साहु र कामतलाई नियन्त्रणमा लिइएको स्थानबाट करिब ३ सय मिटर उत्तरमा ‘ह्युम पाइप’मा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो । प्लाष्टिक र बोराका १२ वटा पोकामा ‘प्याक’ गरेर लुकाइएको अवस्थामा गाँजा फेला परेको उनले बताए ।
जोशीका अनुसार गाँजा बरामद गरेर तौल गर्दा ३ सय ४७ किलो १ सय १० ग्राम थियो । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर राखिएको छ । यस विषयमा थप अनुसन्धान सुरु गरिएको बताउँदै जोशीले पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने जानकारी दिए ।
गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको भन्ने यकिन हुन बाँकी छ । यद्यपि, पूर्वी पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारततिर कटाउने योजनासहित ल्याइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप विषय अनुसन्धानपछि खुल्ने जोशीले बताए ।
प्रतिक्रिया