चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा चार हात्तीले जन्माए छावा

सोमबार, १९ साउन २०८२

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । विसं २०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार विसं २०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, विसं २०८२ असार २८ गते लोकतन्त्रकलीले बेदगज, असार ३० गते तीर्थमानकलीले बिभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन् ।

निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन् । हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ । खोरसोरमा अब चितवनकली गर्भवती रहेको उनले जानकारी दिए । चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उहाँले बताउनुभयो ।

अहिले खोरसोरमा रहेका छ वटा छावालाई तालिम दिइएको छ भने सात वटालाई तालिम दिन बाँकी रहेका छन् । अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती रहेका छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ । छावाको न्वारन विधिपूर्वक गरिने गरिन्छ ।

प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षापोष्टमा पठाउने गरिन्छ । रासस

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार