काठमाडौं । सार्वजनिक यातायात बचाउ संघर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर सरकारसँग भएको ६ बुँदे सहमति छिटो कार्यान्वयन गर्न माग गरेको छ। बुधबार सिंहदरबारस्थित मन्त्री दाहालको कार्यकक्षमा समितिले मन्त्रालयको तदारुकता माग गर्दै ध्यानाकर्षण गराएको हो।
मन्त्री दाहाल, मन्त्रालयका सचिव केशव शर्मा, सहसचिव कृष्णराज पन्त, संघर्ष समितिका संयोजक विजयबहादुर स्वाँर लगायत विभिन्न यातायात महासंघका प्रतिनिधिहरू भेटमा सहभागी थिए।
मन्त्री दाहालले सेवा सुचारु गरेकामा धन्यवाद दिंदै सहमति कार्यान्वयनमा कुनै ढिलाइ नहुने र एक महिनाभित्र टुंगो लाग्ने बताएका छन्। उनले अदालतको निर्णय कार्यान्वयनका लागि मन्त्रालयबाट सिफारिसमा ढिलाइ नगर्ने स्पष्ट पारे।
छ बुँदे सहमति अनुसार, राइड सेयरिङ नियमावली स्थगन, सर्वोच्चको परमादेश कार्यान्वयन, सम्बन्धित कानुन संशोधन, भारवहन निर्देशिका सुधार, सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचिकरण, तथा सार्वजनिक सवारीको आयु सीमाको कार्यान्वयनको माग गरिएको छ।
संघर्ष समितिले गृहमन्त्रालयलाई पनि आजै ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया