सर्लाहीमा कांग्रेस नेतामाथि श्रृंखलाबद्ध आक्रमण, अपराधी संरक्षणमा प्रहरी नै लागेको आरोप

विहीबार, २२ जेठ २०८२

सर्लाही : नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले सर्लाही जिल्लामा पार्टी नेताहरूमाथि श्रृंखलाबद्ध रूपमा आक्रमण भइरहेको र अपराधीहरूलाई संरक्षण गर्न स्थानीय प्रहरी प्रशासन नै सक्रिय भएको आरोप लगाएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै उपसभापति यादवले यस्तो गम्भीर आरोप लगाउँदै घटनाप्रति घोर निन्दा र भर्त्सना गरेका हुन्।

उनले सर्लाही जिल्लाको रामनगर गाउँपालिका लगायतका क्षेत्रमा काँग्रेस नेतामाथि कुटपिट, गाडी तोडफोड तथा ज्यान लिने सम्मका प्रयास हुँदै आएको उल्लेख गरेका छन्। यादवका अनुसार सर्लाही जिल्लामा नेपाली कांग्रेसका नेताहरू— प्रदेश सांसद विरेन्द्र प्रसाद सिंह, रामनगर गाउँपालिका अध्यक्षका उम्मेदवार हरिनन्दन यादव लगायतलाई लक्षित गर्दै अपराधी समूहले योजनाबद्धरूपमा आक्रमण गर्दै आएको छ।

“अपराधीको पहिचान भइसकेको छ, तर प्रहरी प्रशासनले तिनलाई कानुनी कारबाहीको दायरामा ल्याउन चासो नदेखाएको अवस्थामा हाम्रो गम्भीर आशंका प्रहरी प्रशासनकै भूमिकामाथि उब्जिएको छ,” यादवले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले स्थानीय प्रहरी प्रशासनको व्यवहारप्रति खेद प्रकट गर्दै कानुनको पालना नगर्ने प्रहरी स्वयंलाई समेत कानुनी दायरामा ल्याउन माग गरेका छन्।

घटनाले शान्ति सुरक्षाको अवस्था गम्भीर बनेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ। “हाम्रो पार्टीका नेतामाथि बारम्बार संघातिक आक्रमण भइरहेको छ, यस्तो स्थिति हामीलाई सह्य छैन। दोषीलाई कारबाही नगरे सशक्त आन्दोलनमा जान बाध्य हुनेछौं,” यादवको चेतावनी छ।

यसैबीच, कांग्रेस सर्लाही जिल्ला सचिव निरज कार्की र क्षेत्र नं. ४ का क्षेत्रीय सभापति राम आश्रय साहले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा गरेका छन्। नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा संचार विभागका सचिव निकेश त्रिपाठीका अनुसार कांग्रेसले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न, शान्ति सुरक्षा कायम गर्न र जनतालाई त्रासमुक्त वातावरण दिन सरकारसँग जोडदार माग गरेको छ।

कांग्रेसले अब यदि सुरक्षा प्रत्याभूति नदिइए र आक्रमणमा संलग्नलाई कारबाही नगरे आन्दोलन चर्काउने चेतावनी पनि दिएको छ। “आन्दोलनका कारण उत्पन्न हुने सबै जिम्मेवारी प्रहरी प्रशासनकै हुनेछ,” विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार