विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले बनाउने चुनावी गठबन्धनका कारण महिलाहरू नेतृत्वमा पुग्न वञ्चित हुन थालेको गुनासो गरेकी छन्। शुक्रवार विराटनगरमा सुरु भएको स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनको संरचनाले महिला नेतृत्वको सम्भावनामा अवरोध खडा गरिरहेको बताइन्।
"गठबन्धन बनाउँदा महिला उम्मेदवारलाई प्राथमिकता नदिई गठबन्धनका नाममा पुरुषलाई अघि सार्ने प्रवृत्ति देखिन्छ," भण्डारीले भनिन्, "यसले लोकतान्त्रिक मूल्य र समावेशिताको भावना कमजोर पार्दछ।"
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूलाई समावेशी प्रतिनिधित्वको मर्म बिर्सिन नहुने चेतावनी दिँदै सबै तहमा महिलाको नेतृत्व सुनिश्चित गर्ने दिशामा गम्भीर प्रतिबद्धता जनाउन आग्रह गरिन्। उनले स्थानीय तहका महिला जनप्रतिनिधिहरूले नेतृत्व क्षमतामा कुनै कमी नराखेको र उनीहरूलाई अवसर मात्र दिनुपर्ने धारणा राखिन्।
उनले उपप्रमुखहरूलाई आ-आफ्नो पालिकामा विकास निर्माण, आर्थिक समृद्धि र जनताको आवश्यकतालाई सम्बोधन गर्ने नीतिमा प्राथमिकता दिन सुझाव दिइन्। सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक कामको खाँचो औँल्याउँदै भण्डारीले जनअपेक्षा पूरा गर्न सबै तहका सरकारहरूले सहकार्य गर्नुपर्ने बताइन्।
भण्डारीले आफ्नो सक्रिय राजनीतिक यात्राबारे पत्रकारले सोधेको प्रश्नमा 'समय आउँछ' भन्दै पार्टी अध्यक्ष बन्ने सङ्केत पनि दिइन्। "म सक्रिय राजनीतिमा छु," उनले भनिन्, "पार्टी नेतृत्वको कुरा समयले तय गर्नेछ।"
सम्मेलनमा सहभागी उपप्रमुखहरूले पनि उपेक्षित भूमिकाका विषयमा आफ्ना अनुभवहरू साझा गरेका थिए। काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल र विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले उपप्रमुखको जिम्मेवारी कानुनी रूपमा स्पष्ट नभएको र व्यवहारमा उपेक्षा झेल्नुपरेको गुनासो गरेका थिए।
शुक्रवारदेखि सुरु भएको सम्मेलन शनिवारसम्म चल्नेछ। सम्मेलनमा मुलुकभरिका २९१ जना उपप्रमुख तथा उपाध्यक्षको सहभागिता रहेको छ। कार्यक्रमको समापनसँगै ‘विराटनगर घोषणापत्र’ जारी गर्ने तयारी गरिएको छ, जसमा उपप्रमुखहरूको अधिकार र भूमिकालाई कानुनी तथा व्यावहारिक रूपमा स्पष्ट पार्ने प्रतिबद्धता समेटिने बताइएको छ।
प्रतिक्रिया