झापाको अर्जुनधारामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

शनिबार, २४ जेठ २०८२
फाइल तस्बिर

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ मा सामुदायिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। शनिबार बिहान पौडी खेल्न गएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको हो।

मृतक मध्ये महसुस गुरुङ तेह्रथुमको जिरीखिम्ती घर भइ हाल अर्जुनधारा–११ स्थित पूर्णबहादुर राईको घरमा पाहुना आएका थिए भने सुजल गुरुङ सोही वडाकी स्थानीय मुना गुरुङका छोरा थिए। दुवै जना बिहान सामुदायिक वनभित्र रहेको दिमदिमे पोखरीमा पौडी खेल्न गएका थिए।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बिहान ८ बजेपछि दुवै बालक डुबेको अवस्थामा पोखरीमा फेला परेका थिए। स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगेका थिए। तर, बिहान ८:२० बजे अस्पताल पुर्याइएसँगै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

घटनास्थल अर्जुनधारा नगरपालिका–११ को नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक पोखरी हो। स्थानीयहरूले पोखरी आसपास कुनै सुरक्षात्मक उपाय नहुनु वा चेतावनी बोर्ड नरहनुले घटना भएको बताएका छन् । 

दुवै बालकको शव हाल बी एन्ड सी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो घटनाले सामुदायिक स्थलमा बालबालिका तथा सर्वसाधारणको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीले पोखरीको संरचना, सुरक्षात्मक उपायको अभाव र घटना भएको बेलाको अवस्थाबारे विस्तृत अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार