धरान :धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा खुला व्यायामशालाको निर्माण कार्य सम्पन्न भई आज एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। व्यायामशालाको उद्घाटन वडा अध्यक्ष नरेन्द्रकुमार राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरबहादुर लिम्बू ले संयुक्त रूपमा रिबन काटेर गरेका हुन्।
करिब साढे सात लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो व्यायामशाला धरान–१८ वडा कार्यालयको विशेष सहयोगमा सम्पन्न भएको हो। सो मध्ये पाँच लाख रुपैयाँ वडा कार्यालयबाट प्राप्त भएको र बाँकी रकम विद्यालयले आफ्नै स्रोत र अन्य सहयोगबाट जुटाएको विद्यालय प्रमुख राई ले जानकारी दिए।
कार्यक्रमका सभाध्यक्ष अमरबहादुर लिम्बूले विद्यार्थीको शारीरिक र मानसिक विकास सँगसँगै अतिरिक्त क्रियाकलापलाई विद्यालयले उच्च प्राथमिकता दिँदै आएको बताए। “केवल पठनपाठनमा सीमित नरही विद्यार्थीको बहुआयामिक विकासका लागि व्यायामशालाको निर्माण गरिएको हो,” उनले भने।
वडाध्यक्ष राईका अनुसार धरान–१८ बाट खुलेको यो व्यायामशाला धरान उपमहानगरमा पहिलोपटक विद्यालयमा निर्माण गरिएको खुला व्यायामशाला हो। हालसम्म धरानका सात वडामा यस्ता व्यायामशालाहरू निर्माण भइसकेका छन्, जसमा डिपो स्कुल पनि समावेश भएको हो।
वडाध्यक्ष राईले भने, “मैले अध्ययन गरेको आफ्नै विद्यालयमा यस्तो सुविधा स्थापना गर्न पाउनु गर्वको कुरा हो।” पूर्व ब्रिटिस गोर्खा सैनिकका छोरा रहेका राई आफैँ डिपो स्कुलका पूर्व विद्यार्थी तथा पूर्व विद्यार्थी संगठनका अध्यक्ष समेत हुन्।
डिपो स्कुल सन् १९६३ मा तत्कालीन ब्रिटिस घोपा क्याम्प ९हालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्र० मा स्थापना गरिएको हो। करिब साढे तेह्र विघा क्षेत्रफलमा फैलिएको यो विद्यालय ब्रिटिस गोर्खा सैनिकका सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो।
उद्घाटन कार्यक्रममा डिपो स्कुल गुठी अध्यक्ष भीमराज लिम्बू, व्यवस्थापन समिति सदस्यहरू हर्कराज राई, खड्क लिम्बू, सूर्यपन्धाक लिम्बू, इन्द्ररानी लिम्बू लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया