इलाममा साना सिचाई योजनाले बदलिँदै किसानको जीवनशैली, ३२ हजार रोपनी भूमि सिचाईको पहुँचमा

सोमबार, २६ जेठ २०८२

इलाम : इलाम नगरपालिकामा सञ्चालन भएका साना सिचाई योजनाले किसानको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याइरहेको छ । नगरपालिकाका विभिन्न वडामा निर्माण सम्पन्न भएका ३६ सिचाई योजनाबाट हजारौं घरधुरी लाभान्वित भएका छन् भने खेतीयोग्य जमिनमा वर्षभर सिचाई सुविधा पुगेको छ ।

इलाम नगरपालिका–५ को भोर्लेनीका किसान रुद्र प्रसाद भट्टराईलाई अहिले हिउँद याममा पनि खेती गर्न सहज भएको छ । उनले निर्माण गरिएको पक्की कुलोबाट पानी सञ्चालित हुन थालेपछि वर्षैभर सिचाई गर्न सकिने बताए । स्थानीय इन्द्र भुजेलले पहिलेको जस्तो सस्तो याममा सिचाईको समस्या नरहेकाले अब तरकारी खेती र नगदे बालीमा ध्यान केन्द्रित गर्न सकेको बताइन् ।

वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार ४१ लाख ३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त सिचाई योजनामा जल उपभोक्ताको १० प्रतिशत योगदान रहेको छ । यस्तै, वडा नं. १ मा पनि झुत्रे खोलाबाट पानी ल्याइने कुलोको निर्माणपछि गाउँ नै हराभरा देखिएको छ । किसान देवीमाया खातीले हिउँद याममा समेत तरकारी खेती गरेर राम्रो आम्दानी भइरहेको बताउँछिन् । स्थानीय खेमराज गुरुङले वार्षिक ८–९ लाख रुपैयाँ तरकारी बिक्रीबाट आम्दानी हुने गरेको जानकारी दिए ।

वडाध्यक्ष गायत्रीराम बस्नेतले उक्त योजनाले दुई–तीन सय घरधुरीलाई प्रत्यक्ष लाभ पु¥याएको बताए । चालु आर्थिक वर्षमा आठवटा नयाँ सिचाई योजना निर्माण भइरहेको छ । तीमध्ये आपसिंगे खोला र सानवीरे खोलाको योजना अन्तिम चरणमा पुगेको र अन्य ६ योजना सम्पन्न भइसकेको इलाम नगरपालिकाका सिचाई फोकल पर्सन बासु पोख्रेलले जानकारी दिए ।

आर्थीक वर्ष २०७६र७७ सालदेखि हालसम्म साना सिचाई योजनाहरू निर्माणमा स्विस सरकार, सङ्घ, प्रदेश सरकार, नगरपालिका र जल उपभोक्ता संस्थाको संयुक्त लगानी रहेको छ । ३६ सिचाई योजनामा २३ करोड ७५ लाख २२ हजार रुपैयाँ खर्च भइसकेको छ । यी योजनाबाट नगरका सबै वडामा फैलिएको ३२ हजार ४१० रोपनी जमिन सिचाई सुविधा अन्तर्गत आएको छ ।

चालु आर्थिक वर्षका आठ योजनामार्फत २९० घरधुरीलाई लाभ पुगेको छ भने ३ हजार २ सय ४ रोपनी क्षेत्रफलमा सिचाई सम्भव भएको छ । अन्न बाली, तरकारी तथा नगदे बालीमा सिचाई सुविधा पुगेपछि किसानहरूको उत्पादन क्षमतामा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

आयोजनाको दीगो सञ्चालनका लागि कुल लागतको एक प्रतिशत रकम मर्मत–सम्भारमा छुट्याइएको छ भने कतिपय उपभोक्ता संस्थाले अतिरिक्त शुल्क संकलन गरेर मर्मत कार्य गरिरहेको संयोजक केशव लामाले बताए । भूगोलअनुसार पक्की कुलो निर्माण गरिएकाले दीर्घकालीन सिचाई व्यवस्था सुनिश्चित भएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार