राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई १ लाख सहित सम्मान गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

मंगलबार, २७ जेठ २०८२

विराटनगर।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र टिमलाई १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन्।

मंगलबार विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डमा आयोजित बिदाई कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रतियोगितामा व्यक्तिगत तथा टिम विधामा प्रथम हुने खेलाडी र टिमलाई नगदसहित प्रशिक्षक र व्यवस्थापकलाई पनि उचित सम्मान गरिने प्रतिवद्धता जनाए।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले ‘कोशी प्रदेश खेलग्राम’ निर्माणको योजना अघि सारिएको जनाउँदै प्रदेश सरकारले आन्तरिक तथा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनको तयारी गरिरहेको जानकारी दिए। उक्त खेलग्राम पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैँचा नगरपालिकाको सहकार्यमा निर्माण गरिनेछ।

बिदाई कार्यक्रममा सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सीमित समय, प्रतिकूल मौसम र अन्योलताको बाबजुद खेलाडी छनोट गर्न सफल भएकोमा सरोकारवालालाई धन्यवाद दिए। खेलाडीलाई आत्मविश्वासका साथ प्रतिस्पर्धामा सहभागी हुन उनले आग्रह गरे।

खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई सम्मान गरिने र घाइते खेलाडीहरूको उपचार खर्च बोर्डले व्यहोर्ने बताए। प्रतियोगितामा कोशी प्रदेशबाट ११५ जनाको टोली काठमाडौँ प्रस्थान गर्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार