काठमाडौँ : चर्चित टेलिभिजन कार्यक्रम 'टफ टक'का प्रस्तोता तथा सञ्चारकर्मी दिलभूषण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धानका लागि कार्यालयमा हाजिर हुन आग्रह गरेको छ।
मङ्गलवार सार्वजनिक गरिएको सूचनामा साइबर ब्युरोले पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा उजुरी परेकाले अदालतबाट पक्राउ अनुमति लिइएको जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्न यथाशीघ्र उपस्थित हुन अनुरोध गरिएको छ।
ब्युरोका अनुसार वादी नेपाल सरकार र प्रतिवादी पाठक रहेको उक्त उजुरी साइबर ब्युरोमा दर्ता भएको हो। उजुरीको आधारमा काठमाडौँ जिल्ला अदालतले २०८२ जेठ २७ गते पक्राउ अनुमति दिएको ब्युरोले जनाएको छ।
उक्त प्रकरण सञ्चारकर्मी पाठकद्वारा सञ्चालित ‘टफ टक’ अन्तर्गतको ‘टफ एक्स्प्लेन’ शृङ्खलाको एउटा रिपोर्टसँग जोडिएको छ।
सो रिपोर्टमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर काठमाडौँको नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो।
यसै सन्दर्भमा रिपोर्ट कपोलकल्पित, भ्रामक तथा चरित्रहत्या गर्न खोजिएको आरोपमा साइबर ब्युरोमा उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
यता पाठकले पक्राउ अनुमति आदेशपछि उच्च अदालत पाटनमा निषेधाज्ञाका लागि निवेदन दर्ता गरेका छन्। अदालतले दुवै पक्षलाई छलफलका लागि असार ५ गते बोलाएको छ। त्यसबेलासम्मका लागि पाठकलाई नपक्रन अदालतले आदेश दिएको छ।
प्रतिक्रिया